Monday, 15th June, 2026
वि.स.

वृद्धाश्रममा पानी चुहियो, समस्यामा आश्रित

ekkk-1588599242.jpg

छानाबाट पानी चुहिन थालेपछि हेटौंडा–२ चौकीटोलमा रहेको ओम वृद्धाश्रममा आश्रितहरु समस्यामा परेका छन् । वृद्धाहरु राख्न १३ वर्षअगाडि निर्माण गरिएको चारकोठे जस्ताले छाएको भवनमा पानी चुहिन थालेको छ । 

वृद्धाश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलका अनुसार हाल ४ वटा कोठामा ११ जना महिला छन् । 'वर्षासँगै पानी चुहिन चालेपछि उहाँहरुलाई सुत्न र बस्नै समस्या हुन्छ,’ उनले भने । २०७२ सालको भूकम्पले समेत भवन चर्किएको थियो ।

२०६४ सालमा स्थापित आश्रममा ६० वर्षदेखि ८७ वर्षसम्मका वृद्धा छन् । ९ वर्षदेखि बस्दै आएकी ७८ वर्षीया रमा रुपाखेतीले अघिल्लो वर्षको तुलनामा यसवर्ष धेरै नै पानी चुहिएको बताइन् । ‘पानी परेपछि भाँडो थाप्नुपर्ने अवस्था भएको छ । सुत्न पनि पाइँदैन,' उनले भनिन् । सबैजसो विभिन्न रोगको औषधि सेवन गर्ने भएकाले रातको समयमा सुत्न नपाउँदा झन् समस्या हुने गरेको उनको भनाइ छ ।

आश्रमका अध्यक्ष पौडेलले दुईतल्ले भवन निर्माणका लागि नक्सा तथा लागतअनुमान तयार गरिए पनि कतैबाट सहयोग प्राप्त नहुँदा समस्या भइरहेको बताए । ‘दुईतल्ले भवन निर्माण गर्न करिब ९२ लाख रुपैयाँको लागत इस्टिमेट गरिएको छ । तर, हामी ४० लाख रुपैयाँ भयो भने ढुंगा, गिट्टी, बालुवालगायत मागेर भवन निर्माण सम्पन्न गर्छौं,' उनले भने । ५ कठ्ठा जमिनमा फैलिएको आश्रमको २० कोठे भवनमा भने पुरुषहरु राख्ने गरिएको छ ।

आश्रम सञ्चालनका लागि सभाहल भाडामा लगाउने गरिएको आश्रमकी उपाध्यक्ष वेगम बरालले जानकारी दिइन् । बरालका अनुसार तत्काल महिला राख्नका लागि ५ कोठे भवनको आवश्यकता छ । ‘कसैको जन्मोत्सव वा स्मृतिमा विभिन्न व्यक्ति तथा संस्थाबाट भएको सहयोगबाट हामीले आश्रम सञ्चालन गरिरहेका छौं । स्थानीय निकाय तथा मन्त्रालयहरुबाट सहयोगको आश्वासन भए पनि लकडाउनका कारण हामीलाई समस्या सिर्जना भएको छ,' उनले भनिन्, 'सहयोगका लागि आह्वान गरिए पनि कतैबाट सहयोग प्राप्त भएन ।'

-इकान्तिपुरबाट