Saturday, 20th June, 2026
वि.स.

वाग्मती प्रदेशमा स्थानीय सडक सुधार कार्यक्रम शुरु

bagmati-pradesh-1615797939.jpg

वाग्मती प्रदेशको राजधानी हेटौँडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम शुरु भएको छ । वाग्मती प्रदेशअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा सो कार्यक्रम शुरु भएको हो । हेटौँडास्थित भौतिक पूर्वाधार विकास मन्त्रालयमा आइतबार एक कार्यक्रमबीच वाग्मती प्रदेशका उक्त चार वटा स्थानीय तहसँग सडक निर्माण तथा सुधार कार्यक्रम लागि सम्झौता भएको छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार वाग्मती प्रदेशमा ६० स्थानीय तहले यो कार्यक्रमका लागि माग पठाएकामा चार स्थानीय तहसँग सम्झौता भएको हो । परियोजनाका लागि सङ्घ, प्रदेश र स्थानीय तहले लागत साझेदारी गर्ने स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय हेटौँडाका प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

कार्यक्रमकको शुभारम्भका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले जनताका लागि उत्कृष्ट काम गरेको जिकिर गरे । उनले स्थानीय तहको केन्द्रबाट प्रदेशको राजधानीसम्म जोड्ने सडक रणनीतिक महत्वको हुने बताए । कार्यक्रममा मन्त्री फुयाँलले जनताको जायज माग पूरा गर्न सरकार तयार रहेको बताए ।

चालु आर्थिक वर्षमा छनोट तथा समझदारी पत्रमा हस्ताक्षर भएका योजनाको क्रमशः विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र कम लम्बाइ भएका आयोजनाको निर्माण कार्य यसै वर्षबाट शुरु गर्ने कार्यालय प्रमुख चापागाईंले बताए । कार्यक्रममा वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेशका प्रमुख सचिव मानबहादुर विक, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतको सहभागिता थियो ।

देशभरका ३९२ पक्की सडकको माग भए पनि ६१ स्थानीय तहमा अझै सडक पहँुच नपुगेको अनुमान छ । कार्यक्रममार्फत चालु आवको अन्तसम्ममा २० सडकको निर्माण कार्य शुरु गर्ने लक्ष्य लिइएको छ । पाँच वर्षभित्र चार हजार किलोमिटर सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रममा सडक पुलसहित करिब रु दुई खर्ब बजेट अनुमान गरिएको छ ।रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०