Wednesday, 17th June, 2026
वि.स.

बाग्मती प्रदेशको कोरोना नियन्त्रणमा ४८ करोड खर्च

samajik-1602825507.jpg

वाग्मती प्रदेश सरकारले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ४८ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ ।त्यसमध्ये १३ करोड ६७ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च गर्न स्थानीय तहहरुलाई निकासा गरिएको हो भने बाँकी ३४ करोड ६१ लाख रुपैयाँ प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत् विभिन्न शीर्षकमा खर्च गरिएको हो ।

गत असार मसान्तसम्ममा कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १८ करोड ८० लाख रुपैयाँ खर्च भएकोमा साउनयता ३ महिनाको अवधिमा थप १५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्थानीय तहहरुलाई निकासा गरिएको १३ करोड ६७ लाख रुपैयाँको खर्चको अवस्थाबारे भने रिपोर्ट आइसकेको छैन । प्रदेशले महानगरपालिकालाई ६० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १२ लाख, गाउँपालिकालाई ८ लाख र जिल्ला विपद् व्यवस्थापन समितिलाई ५ लाखका दरले रकम निकासा गरेको थियो ।

प्रदेशको मुख्यन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका योजना महाशाखाका अधिकृत रमेश सुवेदीका अनुसार प्रदेश सरकारले ४० लाख रुपैयाँ हालेर सुरु गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोष खडा गरेको थियो । उक्त कोषमा ४४ करोड ४० लाख रुपैयाँ जम्मा भएकोमा सोही कोषबाट मात्र २९ करोड ४८ लाख रुपैयाँ खर्च भएको हो ।

कोरोना कोषमा विभिन्न निकायका पदाधिकारी र कर्मचारीले गरी २ करोड २२ लाख ४३ हजार र बैंक तथा संघसंस्थाबाट १ करोड ९७ लाख २ हजार रुपैयाँ जम्मा भएको थियो । अब कोरोना कोषमा १४ करोड ९३ लाख २४ हजार रुपैयाँ मात्र बाँकी रहेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार साँझसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ५५ हजार ९ सय ९९ पुगेको छ । वाग्मतीमा अहिलेसम्म ३२ हजार १ सय २७ जना निको भएका छन् भने २३ हजार ५ सय ७८ जना उपचारमै रहेका छन् । वाग्मतीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ९४ पुगेको छ । इकान्तिपुरबाट 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०