Thursday, 3rd September, 2026
वि.स.

लकडाउनमा चेपाङको पीडा: अपाङ्ग बुबा सहित २२ जनाको परिवार, गिठ्ठा भ्याकुर पनि पाउनै मुस्किल 

Chepang-2-1622996577.jpg
  • शिशिर सिंखडा, चितवन । 

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० लोतन्तीका रामबहादुर चेपाङ ओछ्यान परेको २ वर्ष बित्यो । सहाराको रूपमा रहेकी एकमात्र छोरी रामकुमारी चेपाङको आश्रयमा उनी बस्दै आएका छन् । छोरी रामकुमारीको अवस्था पनि दयनीय नै छ । ७० वर्षीय बुबालाई स्याहार गर्दै आएकी रामकुमारीले भनिन् – बिरामी र अशक्त बुबाको हेरचाह एकातिर छ भने अर्कोतर्फ २२ जनाको ठूलो परिवार आफै समस्यामा रहेको उनी बताउँछिन् । 

८ जना दाजुभाइ मध्ये घरको साहिली बुहारी रामकुमारीको ठूलो परिवारमा न त घरमा खाने अन्न छ, न त बस्ने ठाउँ नै । बिरामी बुबा सहित २२ जनाको परिवार कोही पालीमा, कोही चोटामा त कोही अगेनाको छेउमै ओछ्यान लगाएर सुत्नुपर्दछ, उनले भनिन् । उनको घरमा अगाडि पिढीँमा अशक्त बुबालाई सुताइ राखिएको थियो भने साना बच्चा झोलुङ्गामा हल्लिरहेकी थिइन् । ठूलो परिवार काम के गर्ने भन्ने रनभुल्लमा परिवारका सदस्यहरू देखिन्थे । 

लकडाउन हुनुभन्दा अगाडि भने ज्याला मजदुरी गर्ने परिवारका सदस्य पनि काम नपाउँदा घरमै बस्न बाध्य छन् । बिहान बेलुकाको छाँक टार्ने समस्या एकातिर छ भने अर्कोतर्फ बिरामी बुबाको उपचार कसरी गर्ने भन्ने पनि आफूलाई पिरलो परेको रामकुमारी बताउँछिन् । 

पाखो बारीको अन्नले ३ महिना पनि मुस्किलले पुग्ने यो परिवारले गिठ्ठा भ्याकुर पनि भरी पेट खान पाएका छैनन् । कुनै छाँक छिमेक, गाउँघरबाट पैचो मागेर खाने गरेका छौँ भने कहिले गिठ्ठा भ्याकुर खादै आएका छौँ, उनले भनिन् । परिवार ठूलो हुनाले अन्न त कता हो कता गिठ्ठा भ्याकुर पनि पेटभरी खाने अवस्था छैन, रामकुमारीका माहिला जेठाजु आकाश चेपाङले भने ।

सोही गाउँकी विष्णुमाया चेपाङको परिवार पनि १३ जनाको छ । ४ छोरा र ३ छोरी सहित नातिनातिना घरभरी छन् । विष्णुमाया घरको ढोकाको छेउमा गिठ्ठा काट्दै थिइन् भने उनकी ३ वर्षको नातिनी घरको चोटाबाट हजुरआमाले काटेको गिठ्ठाको थाल हेर्दै थिइन् । खै के सोच्दै हेरिन्, अनुमान गर्न सहजै सकिन्छ कि बिहानको खाना कतिबेला पाक्छ भनेर होला । 

उनको घरभित्र पनि अन्नको दाना केही पनि देख्न सकिँदैनथ्यो । कहिले पाइयो भने गाउँघरबाट कोदो मकै ल्याएर खान्छौँ नभए गिठ्ठाको भरमा परिवार पाल्दै आएको विष्णुमायाले बताइन् । उनको परिवार पनि ज्याला मजदुरीले नै परिवार धान्दै आएको थियो । सो लोतन्ती गाउँका अतिरिक्त टुडीखेल गाउँ, छ्यासिलिङ गाउँ, क्यान्सिराङ गाउँको पनि अवस्था उस्तै छ । सो गाउँका ६८ घरपरिवारमा अहिले अनिकाल लागेको स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकलाल चेपाङले जानकारी दिए । 

कालिका नगरपालिकाकै वडा नं. ९ को राजवन, सम्फ¥याङ, चाइनाराङ, भ्युरान लगायतका गाउँमा पनि खाद्यान्न अनिकाल लागेको स्थानीय लक्ष्मी चेपाङले जानकारी दिइन् । स्थानीय ३५ घरपरिवार दैनिक गुजारा टार्न पनि समस्यामा रहेको उनले बताइन् ।कालिका नगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष दिलबहादुर गुरूङले चेपाङ गाउँमा कोरोना महामारीले गर्दा बिहान बेलुका छाँक टार्न समेत समस्या भएको बताउँदै ज्याला मजदुरी गर्ने गाउँलेहरूले काम नपाउँदा गिठ्ठा भ्याकुरको भरमा परिवार पाल्नु परेको बताए ।

चेपाङ अभियन्ता तथा पत्रकार केपी किरण शर्माले सो गाउँमा चेपाङको बिचल्ली भएको बताइदै देश बिदेशमा हुने सहयोगी दाताहरुलाई उनीहरुको लागि सहयोग गरिदिन अनुरोध समेत गरे ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif