Tuesday, 16th June, 2026
वि.स.

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

covide-1590565911.jpg

 रौतहटमा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरे ।

चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् । त्यहाँ क्वारेन्टाइन नभएकाले उनीहरुलाई चन्द्रपुरमा राखिएको हो । त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ‘उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘संक्रमण देखिएकाहरुलाई कहाँको आइसोलेसनमा राख्ने भन्ने छलफल हुँदैछ ।’

प्रजिअ घिमिरेका अनुसार चार दिनभित्र जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । अहिले दिनहुँ भारतबाट जिल्लामा भित्रिनेहरुको संख्या सयको हाराहारीमा छ ।

यसअघि रौतहटमा मंगलबार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रौतहटमा अहिलेसम्म तीन जना निको भएका छन् ।

लकडाउन सुरु भएपछि यता रोकिएका भारतीयहरुलाई नेपाली क्वारेन्टाइनमै राखेर स्वास्थ्य परीक्षण गर्ने र भारतमा भएका नेपालीलाई त्यहीँ क्वारेन्टाइन गर्ने नीति सरकारको थियो । तर, वैशाख ३० पछि भारतबाट आउने नेपालीलाई सीमानाका भएरै स्वदेश फर्किने व्यवस्था मिलाइएको छ । त्यसरी आएकाहरुलाई सुरक्षाकर्मीले सिधै क्वारेन्टाइनमा लैजाने गरेका छन् ।

सीमाबाट भित्रिनेहरु जुन स्थानीय तहका हुन् तिनलाई सोही स्थानीय तहमा जनप्रतिनिधिको जिम्मा लगाई स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्न लगाइएको प्रजिअ घिमिरले जनाए । अहिले जिल्लाका विभिन्न क्वारेन्टाइनमा भारतबाट फर्केकाहरू ३ हजार हाराहारी छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०