DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

रेडियो आवाजमा बिवाद, सेयर सदस्यहरुद्वारा ज्ञापनपत्र पेश

थाहानगर, १८ असोज
एकतर्फी रुपमा रेडियो संचालक समिति भंग गरेको भन्दै रेडियो आवाज संचालक समितिका पदाधिकारीहरु रेडियो आवाज संचालक संस्थाविरुद्ध आन्दोलनमा उत्रिएका छन् । रेडियो आवाज संचालक समितिका अध्यक्ष सुरजकुमार भुजेल नेतृत्वको टोलीले आफ्ना मागहरु राख्दै असोज १८ गते संचालक संस्था भ्याइस नेपाललाई ज्ञापन पत्र बुझाएको छ । 
रेडियो आवाज संघर्ष समितिको नामबाट बुझाइएको ज्ञापन पत्रमा संस्थाको साधारण सभाले नै स्वतन्त्र ढंगले रेडियो संचालन गर्ने गरी गठन गरेको रेडियो संचालक समितिलाई कार्यसमितिले भंग गर्न नसक्ने दाबी गरिएको छ । ज्ञापन पत्र बुझाएपछि संचारकर्मीहरुसँग कुरा गर्दै रेडियो संचालक समितिका अध्यक्ष सुरजकुमार भुजेलले भने, ‘हामीलाई तल्लोस्तरको कर्मचारीजस्तो व्यवहार गरियो, उनीहरु जत्तिकै पैसा हाल्ने रेडियोका शेयर होल्डर हौं ।’ रेडियो संचालक समितिको सहमतिमा आफ्नै नाममा सहकारीबाट ऋण लिएर रेडियोको प्रवर्धनमा लगानी गरेको तर संस्थाले अझै उक्त ऋणको सावाँ–ब्याज नतिरेको उनले बताए । 
ज्ञापन पत्रमा रेडियो संचालक समितिलाई पूर्ण अधिकार दिई रेडियो सञ्चालन हुदै आएकोमा भ्वाइस नेपालको कार्य समितिले रेडियो संचालक समिति भंग गरी जर्वजस्त रेडियो माथि हस्तक्षेप गरेको आरोप लगाइएको छ । 
स्वेच्छाले रेडियोबाट बाहिरिन चाहने सदस्यहरुलाई शेयर लगानी फिर्ता बापत ७० हजार रुपियाँ भुक्तान गर्ने सहमती भएको भए पनि त्यसको कार्यान्वयन नभएको ज्ञापन पत्रमा जनाइएको छ । ‘२१ मध्ये १३ जना सदस्यहरुले एकमुष्ट रकम फिर्ताको लागि निवेदन दिएकोमा ५ जनालाई मात्र रकम फिर्ता गरेको, भुक्तानीको लागि यती विकास बैंकको बाउन्स चेक दिई सदस्यहलाई लज्जित तुल्याएको’ भन्दै संघर्ष समितिले ३ दिन भित्र चित्तबुझ्दो ढंगले सम्बोधन गर्न माग गरेको छ । 
सूचना तथा संचार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय, पालुङ, नेपाल पत्रकार महासंघ, मकवानपुर लगायत पेसागत संचार संगठनहरुलाई बोधार्थ दिइएको पत्रमा  आफ्ना मागहरुको यथोचित संबोधन नगरिए थप कार्यक्रमको घोषणा गर्ने चेतावनीसमेत दिइएको छ । ज्ञापनपत्रमा रेडियो आवाजका ११ सेयर सदस्यहरुले हस्ताक्षर गरेका छन् । 

रेडियो आवाज २०७१ साल भदौदेखि प्रशारण हुँदै आएको छ । प्रशारणको एक वर्षमै रेडियो संचालनको विषयमा संस्थापकहरुबीच बिवाद बढ्दै गएपछि संस्थापकहरु दुई धु्रबमा देखिएका थिए । यसअघि नेपाल पत्रकार महासंघ मकवानपुरले बिबाद मिलाउन सहजीकरण गरेको भए पनि सफल हुन सकेको थिएन ।