Wednesday, 19th May, 2021
वि.स.

मकवानपुरमा एक प्याकेट नुनकाे ५५ रुपैयाँ !

aayo-nun-1617347558.jpg

मकवानपुर र चितवनका दुर्गम क्षेत्रका उपभोक्ताले एक प्याकेट नुनको ५० देखि ५५ रुपैयाँसम्म तिर्नुपरेको छ । मकवानपुरको उत्तरी पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका–७ का बासिन्दाले प्रतिकिलो नुन ५० रुपैयाँमा किनिरहेका छन् । राक्सिराङ–७ गर्लिङकी पसले दुदुमाया तामाङले प्रतिप्याकेट नुन ५० रुपैयाँमा बिक्री गर्दै आएको बताइन् ।

भरतपुरको भण्डारा बजारमा २० रुपैयाँ किलोमा पाइने नुन ढुवानी भाडा बढी भएका कारण ५० परेको उनको भनाइ छ । हिउँदका महिनामा गाडीले एक किलो १२ रुपैयाँ र बर्खामा १५ रुपैयाँ ढुवानी भाडा लिने गरेको उनले सुनाइन् । बर्खामा भरियाले बोकेर ल्याउने गरेका छन् । भण्डाराबाट गर्लिङ करिब ३० किलोमिटर टाढा पर्छ । गर्लिङभन्दा अझ दुर्गमको धिराङका बासिन्दाले प्रतिकिलो नुनको ५५ रुपैयाँसम्म तिर्नुपरेको छ । ‘धिराङमा यही नुन ५५ रुपैयाँमा बिक्री भइरहन्छ,’ तामाङले भनिन्, ‘उधारोमा चेपाङहरूलाई बिक्री गर्नुपर्छ । केही त असुल्नै ढिलो हुन्छ । अलिकति नाफा नलिई कसरी पसल चलाउनु ।’

गर्लिङ, दामराङ, धिराङलगायत क्षेत्रमा चेपाङ समुदायको बसोवास छ । यो क्षेत्रको भूगोल मात्रै विकट नभई गरिबीको पनि मारमा छ । यहाँका चेपाङ समुदायलाई आफ्नो उत्पादनले तीन महिनामा पनि खान पुग्दैन । त्यसमाथि पनि कृत्रिम महँगीले ढाड सेकिने गरेको छ । उनीहरू स्थानीय स्तरमा दिनभर श्रम गरेको बढीमा २ सय रुपैयाँ मात्र ज्याला पाउँछन् । चितवनका दुर्गम क्षेत्रका चेपाङ समुदाय पनि महँगो मूल्यमा नुन खान बाध्य छन् । किलोको २० रुपैयाँ पर्ने नुनको यहाँ ७ रुपैयाँ बढी तिर्नुपरेको राप्ती नगरपालिका–१३ को पहाडी गाउँ लोथरको सार्लिङका मानबहादुर चेपाङ बताउँछन् । नगरपालिकाको केन्द्र पूर्व–पश्चिम महेन्द्र राजमार्ग आडको भण्डाराबाट उनको गाउँ ४०र४५ किलोमिटर टाढा छ ।

भण्डाराबाट नुन किनेर गाडीमा राखेर घर गए एक किलोको ७ रुपैयाँ भाडा तिर्नुपर्ने नियमले उनले किनेको नुन ७ रुपैयाँ महँगो हुन्छ । ‘गाडी आएपछि सजिलो भयो भनौं कि अप्ठ्यारो पर्‍यो भनौं । नुनकै किलोको ७ रुपैयाँ बढी तिर्नुपर्छ,’ उनले भने । मानबहादुरको गाउँ मोटरबाटोले अझै छोएको छैन । सडकबाट आधा घण्टा फटाफट हिँडेपछि बल्ल उनको घर पुगिन्छ । मोटर चल्ने ठाउँबाट भण्डारासम्मको भाडा २ सय रुपैयाँ लाग्छ । सामानको किलोको ७ रुपैयाँका दरले बुझाउनुपर्छ । गाउँबाट आक्कलझुक्कल भण्डारा जाने भएका कारण फर्कदा पाँच–सात पोका नै नुन ल्याएर आउने गरेको उनले बताए ।

‘एक पोका भए त झोलातिरै राख्थ्यौं । तर एक पोका ल्याएर धेरै दिन पुग्दैन । त्यसैले बजार झरेका बेला पाँच–सात पोका ल्याउने गर्छौं । भारी देखेपछि गाडीलाई भाडा तिर्नुपर्‍यो,’ मानबहादुरले भने । बजारबाट गाउँलेले नुन तेल, मसाला, चामल सबै किनेर ल्याउनुपर्छ । गाउँबाट बिक्री गर्ने सामान खासै छैन । सार्लिङदेखि पश्चिम निकै पर गएपछि पहाडी पखेरामा दुई–चार घर भएको राप्ती–१३ मै पर्ने ब्रादुगाउँ छ । ‘पहिला त हिँडेरै भण्डारा पुग्ने गरेका हौं । १० वर्षयता पहाडतिर पनि गाडी चल्न थाल्यो । अहिले बाटो नजिक–नजिक आएको छ । हिँडाइको दुःख हटे पनि खर्च बढेको छ भन्नुपर्‍यो,’ ब्रादु गाउँका शंखबहादुर चेपाङले भने ।इकान्तिपुरबाट 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)