Wednesday, 26th August, 2026
वि.स.

राक्सिराङका महिला उद्यमी बन्दै

एडभान्स सिलाईकटाई तालिम सम्पन्न गरी राक्सिराङ गाउँपालिका वडा नं ८ का महिलाहरु उद्यमशीलतातर्फ अग्रसर भएका छन् । राक्सिराङ–८ देविटारमा आयोजित समारोहमा तालिम लिएका महिलाहरुका लागि महिला उद्यमी बन्ने लक्ष्यका साथ २२ थान सिलाइ मेसिन हस्तान्तरण गरिएको छ । लिचा हिमालय इभी र दीगो विकासका लागि एकता नेपालको सहयोग तथा समन्वयमा २२ जना महिलाहरुका लागि कपडा सिलाउने मेसिन बितरण गरिएको हो । मेसिन बितरण गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीप प्रदानसँगै मेसिन हस्तान्तरण गरिएकोमा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरे । उनले सामूहिक रुपमा सिलाई तथा कटाईलाई व्यवसायिकतामा ढाल्नका लागि आवश्यक पर्ने सबै सहयोग गाउँपालिकाले गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

८ नं वडा अध्यक्ष रामकृष्ण प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, लिचा हिमालय इभीका नेपाल प्रतिनिधि अन्जनकुमार पौडेल, सञ्चारकर्मी शिवकुमार काशी, दीगो विकासका लागि एकता नेपालका सहायक परियोजना व्यवस्थापक गोविन्द न्यौपाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । एडभान्स तालिम लिएका २२ जना महिलाहरुले आगामी दिनमा संस्थाले विद्यार्थीहरुका लागि प्रदान गर्ने विद्यालय पोशाक सिलाउने गरी व्यवस्था मिलाइएको दीगो विकासका लागि एकता नेपालका परियोजना व्यवस्थापक अनिल पौडेलले बताए । उनीहरुका लागि सामूहिक रुपमा सिलाई कटाई गर्न भवन समेत निर्माण गरिदिने पौडेलले बताए । 

तालिम लिएका महिलाहरुले आगामी दिनमा गाउँपालिकाको तर्फबाट बितरण हुने पोशाकहरु सिलाउने अबसर पाउनेछन् । तालिममा उत्कृष्ट ५ जनाको नाम समेत सार्बजनिक गरिएको थियो । सहभागी सम्पूर्णलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा लिचा हिमालय इभीका नेपाल प्रतिनिधि पौडेलले प्रमाणपत्र बितरण गरेका थिए ।  
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif