Tuesday, 16th June, 2026
वि.स.

माग सम्बोधन नभए आन्दोलन गर्ने होटल व्यवसायीको चेतावनी

han-1593073435.jpg

होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न भनेको छ ।बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरुबीच विभेद गरेको आरोप समेत लगाउनुभयो ।

साना होटलहरुले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वरेण्टीनमा राख्न बिना शुल्क होटल दिन तयार रहँदा समेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उहाँले बताउनुभयो । अध्यक्ष शाहले  विदेशबाट आउने नागरिकको इच्छा अनुसार सस्तो दरका होटलमा क्वरेण्टीनमा बस्न पाउने गरी व्यवस्थापन गर्न माग गर्नुभयो । व्यवसायीहरुले तीनवटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउन समेत माग गरेका छन् ।

होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनिको बैंक ऋणको ब्याजमा सहुलियत दिन समेत माग गरेका छन् ।

यस्तै लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा १ वर्ष सम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीहरुले माग गरेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०