Saturday, 20th June, 2026
वि.स.

महासंघमा मणीराज गौतमको नेतृत्वमा जाने प्रेस युनियन मकवानपुरको निर्णय

Mani-1616118352.jpg

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चैत २५ गते निर्वाचनको मिति घोषण भएसँगै नेपाल प्रेस युनियन मकवानपुर निर्वाचनको तयारीमा जुटेको छ । नेपाल प्रेस युनियन मकवानपुर कार्यसमिति र निर्वाचन परिचालन तथा समन्वय समितिको बिहीबार बसेको बैठकले प्रेस युनियन मकवानपुरका उपाध्यक्ष मणिराज गौतमको नेतृत्वमा महासंघ मकवानपुरको निर्वाचनमा जाने निर्णय गरेको छ ।

गौतमको नेतृत्व स्वीकार गरी आउने अन्य संघ संगठनसँग निर्वाचन परिचालन समितिले आवश्यक वार्ता र छलफल अघि बढाउनेसमेत निर्णय भएको छ । युनियनको तर्फबाट महासंघमा अध्यक्षमा गौतमको उम्मेदवारी तय गरिए पनि अन्य पदबारे भने केही समयपछि टुङ्गो लगाइने युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’ले जानकारी दिए । अन्य संघ संगठनसँग आवश्यक छलफल र अन्तरक्रिया गर्नको लागि युनियन मकवानपुरका सचिव केशव समर्पणको संयोजकत्वमा यस अघि नै ७ सदस्यीय निर्वाचन परिचालन तथा समन्वय समिति गठन भइसकेको छ ।

बैठकमा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता एवम् सञ्चार विभाग प्रमुख प्रदिप कोइरालाले पत्रकारहरुको हक अधिकार स्थापित गर्न सक्ने गरी महासंघमा जान शुभकामना दिए । लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको रक्षा गर्न एकबद्ध हुने अन्य संगठनसँग सहकार्य गरेर अघि बढ्न पनि उनले आग्रह गरे ।  नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राममणि दाहालले युनियनको नेतृत्व स्वीकार गरी सहकार्य गर्न तयार हुने अन्य संघ संगठनहरुसँग सहकार्य गरेर जान जिल्ला कार्यसमितिलाई आग्रह गरे । सहकार्य गर्न तयार नभए युनियन एक्लै निर्वाचनमा होमिनसमेत सक्षम रहेको उनले बताए ।

युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’को अध्यक्षतामा बसेको बैठकमा युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, युनियनका केन्द्रीय पार्षद एवम् पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारी, कोषाध्यक्ष सुदिप शिवाकोटी, कार्यसमिति सदस्य सुवास बिडारीलगायतको सहभागिता रहेको थियो ।बिहीबार नै युनियनको निर्वाचन परिचालन समितिको बैठक बसी अन्तर संगठन छलफल र अन्तरक्रियाको लागि कार्यविधि बनाउनुका साथै आर्थिक व्यवस्थापन सम्बन्धमा निर्णय गरेको छ । निर्वाचन परिचालन तथा समन्वय समितिका संयोजक केशव समर्पणको संयोजकत्वमा बैठक बसेको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०