Tuesday, 16th June, 2026
वि.स.

मलेसियामा कोरोना सङ्क्रमित सबै नेपाली निको

malaciya-1592384439.jpg

 मलेसियामा कोरोना सङ्क्रमित नेपाली श्रमिक सबैजना निको भएको दावी गरिएको छ । मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको र उनीहरुमध्ये सबैजसो निको भएको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताए।

उनका अनुसार दुई हप्ताअघि नै सङ्क्रमित ८१ मध्ये ४८ जना पूर्ण रुपमा निको भएको र ३३ जना निको हुने चरण थिए । पछिल्लो दुई हप्तामा कुनै कोही पनि नयाँ सङ्क्रमित नभएको र निको हुने चरणमा रहेका ३३ जना पनि निको भएको द्वितीय सचिव त्रिपाठीले दावी गरे ।

‘यहाँ अहिले अवस्थामा सुधार आइसकेको छ, दुई हप्ताअघि ३३ जना निको हुने चरणमा हुनुहुन्थ्यो,’ द्वितीय सचिव त्रिपाठीले भने, ‘हामीलाई निको हुनेका तथ्याँक औपचारिक रुपमा प्राप्त हुँदैन, तर पनि उहाँहरु पनि निको भइसक्नुभएको छ ।’

मलेसियामा सुरुवाती चरणमा कोरोना सङ्क्रमण छिटोछिटो बढ्दा नेपाली श्रमिक पनि त्यसबाट प्रभावित भए । तर खाडीका देशको तुलनामा मलेसियामा कोरोनाबाट कम सङ्ख्यामा नेपाली सङ्क्रमित भए । नेपालीको श्रम गन्तव्य देश यूएई, साउदी, कतार लगायतका देशमा केही नेपालीको कोरोनाको कारण ज्यान पनि गयो । तर मलेसियामा सङ्क्रमित सबैले सजिलै कोरोना जितेको र कसैको पनि ज्यान नगएको दूतावासका द्वितीय सचिव त्रिपाठीले बताए ।

मलेसियामा अहिलेसम्म ८ हजार ५०५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ७ हजार ७३३ जना निको भइसकेका छन् । कोरोनाबाट मलेसियामा १२१ जनाको ज्यान गएको छ । ६५१ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि गएको मे ४ देखि नै लकडाउन खुकुलो बनाइएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०