nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास

स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र गाउँसभा सञ्चालन गर्ने प्रक्रियाबारे मनहरी गाउँपालिका ७ मा नमूना गाउँसभा सञ्चालन गरिएको छ । 

विभिन्न चरणहरुमा मनहरी गाउँपालिकाका सीमान्तकृत, दलित, जनजाति र अन्य समुदायको युवाहरुबीच गाउँसभाको अभ्यास गराइएको हो । पहिलो चरणमा सीमान्तकृत समुदायको मानव अधिकार तथा स्थानीय सरकारको सुशासन प्रक्रिया सन्दर्भमा तालिम सञ्चालन गरिएको थियो । हिमराइट्सको आयोजना तथा मनहरी गाउँपालिकाको समन्वयमा आयोजना भएको कार्यक्रममा नमूना गाउँसभा तथा सीमान्तकृत, दलित, जनजातिको मानवअधिकार र सुशासनका सन्दर्भमा चरणमा मनहरी गउाँपालिका अन्तर्गत ९ वटै वडाका गरी ४८ जना युवाहरु सहभागी भएका थिए । कार्यक्रमको सहजीकरण मनहरी गाउंपालिकाका अध्यक्ष एकराज उप्रेती, हिमराइट्सका अध्यक्ष अन्जना शाक्य र प्रकाश उपाध्यायले गरेका थिए । 

पहिलो चरणमा २ दिन र दोस्रो चरण २ दिन गरी सञ्चालन भएको कार्यक्रममा युवाहरुलाई मानवअधिकार, सुशासन लगायतबारे अभिमुखीकरण गरिएको थियो । तेस्रो चरणमा भने गाउँसभाको गठन प्रक्रिया, गाउँसभामा प्रस्तुत हुने नीति कार्यक्रम तथा बजेट लगायतका बिषयबस्तुमा अभ्यास गराइएको छ । सो क्रममा योजना छनौट, प्राथमिकीकरण, जनजाति, सीमान्तकृत तथा दलि लगायत समावेशीकरणका बिषयहरुलाई गाउँसभामा प्रवेश गराउने कार्य लगायतका सन्दर्भमा केन्द्रित रही गाउँसभा सञ्चालन भएको हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबाले बताइन् । सो क्रममा मनहरी गाउँपालिका अध्यक्ष उप्रेतीले गाउँपालिकाले सञ्चालन गरेको गाउँसभा, योजना तर्जुमा, कार्यान्वयन लगायतका बिषयहरुमा पनि जानकारी गराएका थिए । 

गाउँसभा, कार्यपालिका तथा गाउँपालिका गर्ने विकास निर्माण कार्य र योजना छनौट, प्राथमिकीकरण लगायतका बिषयमा युवाहरुलाई प्रयोगात्मक अभ्यास गरेर बुझाउने र सुशासन कायम गर्नका लागि भूमिका खेल्नका लागि कार्यक्रम आयोजना गरिएको हिमराइट्स मकवानपुरकी संयोजक वाइबाले जानकारी दिइन् ।