Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरीमा १९ बाढी पिडीत परिवारलाई राहत वितरण

Manahari-1504402401.JPG

नेपाल तामाङ समाज जापान क्षेत्रिय समिति किताकान्तोबाट संकलित रकमले मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका १९ बाढी पिडीत घरपरिवारलाई राहत वितरण गरिएको छ । १७ भाद्रमा तामाङ सञ्चार समूह जिल्ला कार्य समिति मकवानपुरले नयाँबस्तीमा एक कार्यक्रमको आयोजना गरी राहत वितरण गरेको हो ।

जापानमा क्षेत्रिय समितिका आदर्श थोकरको संयोजकत्वमा जापानमा कार्यरत नेपालीहरुबाट स्वईच्छिक संकलन गरिएको ७७ हजार ८ सय ६८ रुपैयाँ रकमले दैनिक उपभोग्य सामाग्री, प्रत्येक परिवारलाई चामल १ बोरा, झुल २ थान, साबुन ५ वटा, बाल्टिन १ वटा, आयोडिनयुक्त नुन ५ पोका, म्याट १ थान, तेल ५ लिटर लगायतका सामाग्री वितरण गरिएको हो ।

तामाङ संचार समूह मकवानपुरकी अध्यक्ष दुदुमाया सिन्तानको अध्यक्षता तथा मनहरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपीलाल मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बाढी पिडीतलाई राहत वितरण गर्दै अध्यक्ष मोक्तानले राहत सहयोगले बाढी पिडीतको पिडामा राहत पुग्ने बताउँदै अरु राहत नपाउनेहरुले मन खिन्न नबनाउन आग्रह गरे । उनले सबैभन्दा बढी क्षति भएका आधारमा सबैको लगत संकलन गरि राहत वितरण भएकोले सामान्य क्षति नभएकाले पनि बढी क्षति भएकाले राहत पाउन् भन्ने मनमा सोचिदिन सबैलाई आग्रह गरे । उनले वडा कार्यालयको पहलमा अहिले राप्ती नदीलाई बस्तीभन्दा केही परबाटै ड्याम बनाई बस्ती सुरक्ष ागर्ने कार्य भएको जानकारी दिए । साथै बाढीले घरबारबिहिन भएकाहरुलाई सहयोगको लागि पहल भईरहेको बताए ।

राहत वितरणमा स्थानीय मनोज लामा र प्रवासी तामाङ समाज कतारका केन्द्रीय सदस्य पुष्प मोक्तानका साथै स्थानीय युवाहरुले विशेष सहयोग गरेका थिए । कार्यक्रममा समाजसेवी डम्बरबहादुर लामा, वडा सदस्य कृष्ण गुरुङ, कलाकार तथा निर्देशक बाबु थिङ, गायक तथा कलाकार सुन्दर लामाका साथै तामाङ संचार समूहका उपाध्यक्ष धर्मराज स्याङ्तान, कोषाध्यक्ष दिलबहादुर लामा, सह–सचिव चन्द्र घलान, सदस्यहरु कुन्ती लामा, सम्झना गोले, सुनु थिङ, पविना लामा लगायतको उपस्थिति रहेको थियो ।