Tuesday, 16th June, 2026
वि.स.

मनसुन सक्रिय भएयता विपदमा परेर २ सय जनाको ज्यान गयो

bipat-1596789540.jpg

 यो वर्ष मनसुन सक्रिय भएयता अहिलेसम्म विभिन्न विपद्मा परेर दुई सय जनाको ज्यान गएको छ ।

पहिरोमा परेर एक सय ७६, बाढीमा परेर पाँच र चट्याङ लागेर १९ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपदमा परेर ५४ जना अझै हराइरहेका छन् भने एक सय ९० जना घाइते भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा विपद्का १० वटा घटना भएका छन् । घटनामा परि चार जनाको ज्यान गएको छ भने ३८ लाख ५७ हजार रुपैयाँभन्दा धेरैको क्षति भएको छ । 

झापाको कमल गाउँपालिका ५ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीले घरसमेत भत्काएको छ । यस्तै दैलेखको महाबुगाउँपालिका ५ मा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बैतडीको डिलासैनी गाउँपालिका ४ मठैराजमा पहिरोले घर भत्काउँदा आमा र छोराको च्यापिएर ज्यान गएको छ । 

यसैबीच सिरहाको गोलबजार नगरपालिका २ मा धुपबाट आगलागी हुँदा स्टेसनरी पसल नष्ट भएको छ भने सप्तरीको सुरुङ्गा नगरपालिका १० मा विद्युत् शर्ट भइ आगलागी हुँदा घर पूर्णरुपमा क्षति भएको छ । यता पहिरोका कारण पर्वतको जलजला गाउँपालिका ३ मा पर्ने बेनी मालढुङ्गा सडकखण्ड बन्द भएको छ । 

साथै अबको २४ घण्टाभित्र कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भएकोले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । शुक्रबार कन्काई पश्चिम, वाग्मती, कमला, राप्ती, बबई र यसका सहायक नदीमा पनि बहाव बढ्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०