nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर थाहानगरका सूचना अधिकारी भुजेल सूचना आयोगबाट सम्मानित

IMG_1346-1632840449.JPG

राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मकवानपुर थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएकाछन् । काठमाण्डौंमा १२ असोजमा भएको एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले सम्मान गरेका हुन् । 

थाहानगरका भुजेलसंगै उत्कृष्ट कार्यसम्पादन गर्ने मुस्लिम आयोगका सूचना अधिकारी दयाराम तिवारी, जिल्ला हुलाक कार्यालय ताप्लेजुङका राजेश चौधरी र जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी सरोज खतिवडालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो । 
    
त्यसैगरी सूचना हकका अभियन्ता अजयकुमार साह (उदयपुर), डा. मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार पर्सालाई आयोग स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते घोषणा गरिएको ‘विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार’ प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा राष्ट्रियसभा अध्यक्ष तथा प्रमुख अतिथी गणेशप्रसाद तिमिल्सिनाले राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउन सुझाव दिए । उनले सूचनाको हक कार्यान्वयनको विषय लोकतन्त्र र सुशासनसँग जोडिएकाले लिने र दिने दुवै जागरुक हुन आवश्यक रहेको बताए ।     
    
उनले भने, ‘राज्यबाट सम्पादन हुने काम कारबाहीलाई पारदर्शी तुल्याउन जनता र सबै तहका सरकार सचेत हुनुपर्छ, भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम र लोकतन्त्रलाई सुदृढ तुल्याउन सूचनाको हक कार्यान्वयनले ठूलो योगदान पु¥याउँछ ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जनताले सही सूचना प्राप्त गर्न नसकेमा राज्यद्वारा प्रदान गरिने सेवासुविधा दुरुपयोग हुन सक्ने बताए । उनले भने, ‘सूचनाको हक सुशासनका लागि चाहिने आवश्यक तत्व हो । राज्यको स्रोत साधनको सही सदुपयोग भए÷नभएको विषय जनताले सूचनाको हक कार्यान्वयनबाटै थाहा पाउने हुँदा यसको भूमिका र महत्व धेरै छ ।’    
    
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार घटाउन र नागरिकलाई बलियो तुल्याउन राज्यका निकायले जनतालाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताए ।  उनले भने, ‘स्थानीय तहका कामकारबाहीसँग जोडिएको थुप्रै उजुरीको संख्या बढ्ने क्रमले लोकतान्त्रिक पद्धति सुदृढ मात्र होइन, नागरिक पनि सचेत भइसकेको संकेत गरेको छ । सूचनाको हक कार्यान्वयनले राज्यलाई जिम्मेवार र उत्तरदायी बनाउँछ ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सूचनाको हक सम्पूर्ण रुपमा स्थापित गराउन आयोगले अझ बढी घनिभूत र क्रियाशीलरुपमा लाग्न सक्ने विश्वास व्यक्त गरे । 
    
उनले भने, ‘सूचनाको हकलाई कार्यान्वयन गर्न र प्रत्येक सूचना सरोकालवालासँग छिटोछरितो र सरल ढंबाट पु¥याउन मन्त्रालयले केही गृहकार्य गरिरहेको छ ।’ नेपाल पत्रकार महासंघका सभापति विपुल पोख्रेलले लोकतन्त्रसँग अन्योन्याश्रित सम्बन्ध रहेको सूचनाको हक कार्यान्वयन गर्ने सन्दर्भमा सूचना लिने र दिने संस्कृतिलाई व्यवस्थित तुल्याउन आवश्यक रहेको धारणा राखे । उनले भने, ‘सूचनाले पारदर्शी समाज निर्माण गर्छ, पारदर्शी समाजले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्छ । सूचना लिने र दिने प्रक्रिया लोकतन्त्रलाई बलियो बनाउने आयामसँग जोडिएको विषय हो ।’   
    
आयोगका सचिव भगीरथ पाण्डेले सबै जनतामा सूचनाको पहुँच विस्तार गर्ने सिलसिलामा आयोगद्वारा भइरहेको प्रयासको जानकारी गराए । सूचना प्रविधिका क्षेत्रमा भइरहेको तीव्र विकासलाई दृष्टिगत गरी सरकारले पूर्वाधार, पहुँचको विस्तार, डिजिटल साक्षरतालाई अघि बढाइरहेको जानकारी दिइएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)