nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरेको दुःख : पहिरो छिचोल्दै यात्रा

pahiro-1626856578.jpg

मकवानपुरबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने छोटो दूरीका वैकल्पिक मार्गहरू वर्षायाम सुरु भएसँगै पटक–पटक अवरुद्ध भएका छन् । त्रिभुवन राजपथ, कुलेखानी–सिस्नेरी–काठमाडौं सडक, कुलेखानी–फाखेल–काठमाडौं सडक र कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा यात्रुले सास्ती खेपिरहेका छन् ।

भैंसेदेखि देउराली खण्डका विभिन्न भागमा झरिरहेको पहिरोले यात्रुवाहक सवारीसाधनहरू पुरिएला भन्ने जोखिम बढेको उक्त खण्डमा सवारी चलाउने चालकहरू बताउँछन् । ‘सिमसिम पानी पर्नेबित्तिकै पहिरो झर्न थाल्छ । माथिबाट पहिरो र ढुंगा झर्छ कि भन्दै हेर्दै बिस्तारै सवारी चलाउनुपर्छ,’ सुमोका चालक सुवर्ण थिङले भने, ‘दिउँसो त पहिरो झरेको छ कि छैन भनेर हेरेर पार गरिन्छ तर राति चलाउन रिस्क छ ।’

भीमफेदी गाउँपालिका–२ ज्यालाटारमा करिब ३ सय मिटरभन्दा बढी स्थानमा पहिरो झरेको छ । पहिलो पटक असार १३ मा भारी वर्षापछि पहिरो गएको उक्त क्षेत्रमा अहिले सिमसिम पानी पर्नेबित्तिकै पहिरो झर्ने गरेको हो । चालकहरू पहिरो झरिरहेकै बेला जोखिम मोलेर सवारीसाधन चलाइरहेको बताउँछन् । ‘कतै आधा त कतै पूरै बाटोमा पहिरो थुप्रिएको छ । पहिरो पन्छाएको ठाउँमा पनि हिलैहिलो छ,’ थिङले भने, ‘अहिलेसम्म जसोतसो गाडी चलाइरहेका छौं ।’

भीमफेदी–३ गुन्डुङमा पनि रूखहरूसहित ठूलो पहिरो झरेको छ । साँघुरो र हिलाम्य सडकमा सवारीसाधनहरू आउजाउ गरिरहेका छन् । उक्त खण्डअन्तर्गत भैंसेदेखि देउरालीसम्मको २० किलोमिटर क्षेत्रमा ठूला खालका दर्जनभन्दा बढी पहिरो झरेका छन् । कान्ति राजपथमा ठाउँठाउँमा साना पहिरो गए पनि अन्य मार्गको तुलनामा यात्रा सहज रहेको चालक थिङले बताए । नारायणगढ–मुग्लिङ सडक बन्द हुँदा नेपालको पूर्वी क्षेत्रबाट राजधानी जाने धेरैजसो सवारीसाधन यही खण्ड भएर सञ्चालनमा आउँछन् । दूरीमा भने अन्य वैकल्पिक मार्गभन्दा यो केही लामो छ ।

‘नारायणगढ–मुग्लिङको बाटो बन्द भए कि त्रिभुवन राजपथ भएर जानुपर्छ, नत्र यही पहिरोको जोखिम मोलेर आउजाउ गर्नुपर्छ,’ थिङले भने, ‘समय बढी लाग्ने भएर मात्र हो । अहिले सबैभन्दा सुरक्षित यात्रा त्रिभुवन राजपथकै भएको छ ।’ अहिले प्रदेश सरकारको लगानीमा भैंसेदेखि कुलेखानी ड्यामसम्मको सडक विस्तार भइरहेको छ । देउरालीदेखि कुलेखानी ड्यामसम्मको करिब ८ किमि सडक भने स्तरोन्नतिसहित कालोपत्र भइसकेको छ । उक्त खण्डमा अहिले खासै पहिरो छैन ।

भीमफेदीदेखि देउरालीसम्मको सडकलाई पनि फराकिलो बनाइँदै छ । मोडहरूमा ढलान र अन्यत्र कालोपत्र गरिएको छ । सडक फराकिलो बनाउने क्रममा पहाड काटिएका कारण ठूलाठूला पहिरो खसेका छन् । केही स्थानमा भारी वर्षाका कारण पहिरो गएको हो ।

निषेधाज्ञाका समयमा पनि हेटौंडाबाट यी चार वैकल्पिक मार्ग भएर निजी र भाडाका गरी दिनमै ३ सयभन्दा बढी सवारीसाधनहरू आउजाउ गरेका मकवानपुर प्रहरीले जनाएको छ । निषेधाज्ञा हुनुअघि यो संख्या ८ सयभन्दा बढी हुने गर्थ्यो । कान्तिपुरमा प्रताप विष्टले समाचार लेखेका छन् । 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)