Monday, 19th January, 2026
वि.स.
23...-1768204900.jpg

मकवानपुरगढीले रैथाने बालीको समर्थन मूल्य तोक्यो

makawanpurgadhi-gaupalika-1765443546.jpg

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रैथाने कृषि उपजको नयाँ मूल्य निर्धारण गरेको हो । पालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकेको छ । पालिकाले तिते फापर प्रतिकिलो ९० रुपैयाँ र मिठे फापरको १ सय ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

जुनेलोको समर्थन मूल्य प्रतिकेजी ८४ रुपैयाँ, सेतो सिमी प्रतिकिलो १ सय २० र कालो सिमी १ सय ३० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गोपाल लम्सालले बताए । पालिकाले विगत वर्षमा जस्तै कृषक, कृषक समूह र सहकारी संस्था मार्फत रैथाने बाली खरिदबिक्री गरी किसानलाई अनुदान बापतको रकम प्रदान गरिने जनाएको छ ।

मकवानपुरगढीका कृषकले उत्पादन गरेको कोदो र फापर खरिद गरेर बजार व्यवस्थापन गर्ने सहकारीलाई प्रतिकेजी ४ रुपैयाँ र सहकारीमा कोदो र फापर बिक्री गर्ने कृषकलाई प्रतिकेजी ६ रुपैयाँ अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए । पालिकाभर ६ सय हेक्टरमा रैथानी बालीको खेती हुने गरेको उनले बताए ।

रैथाने बालीको उत्पादन बृद्धिका लागि उक्त गाउपालिकाले विगत ५ वर्षदेखि कोदो र फापरमा अनुदान दिदै आएको छ ।

गाउँपालिकाले ०७७।०७८ देखि कृषि विकास कार्यक्रमअन्तर्गत रैथाने बाली खरिद–बित्री अनुदान कार्यक्रम सहकारीमार्फत कार्यान्वयनमा ल्याएको थियो । पालिकामा गतवर्ष करिब १८० क्विन्टल रैथाने बाली उत्पादन भएको थियो । यस वर्ष उत्पादन वृद्धि हुने अपेक्षा पालिकाको छ ।

पालिकाको वडा १, २, ४, ७ र ८ कोदो र वडा ६ र ८ फापर पकेट क्षेत्रका रुपमा रहेको छ । पालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रमबाट करिब ५ सय घरधुरी लाभान्वित हुने गरेको गाउँपालिकाले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाको सामुदायिक विद्यालयहरुले पनि दिवा खाजामा रैथाने बालीका परिकार बनाएर खुवाउने गरेका छन् । इकान्तिपुरबाट



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०