Tuesday, 16th June, 2026
वि.स.

उत्तरी मकवानपुर क्षेत्रमा बजेटको गृहकार्य सुरु

budget-1591769279.jpg

मकवानपुरको उत्तरी क्षेत्रका पालिकाहरुले आगामी आर्थिक वर्षको बजेट बनाउने गृहकार्य सुरु गरेका छन् । उत्तरी क्षेत्रको थाहा नगरपालिका, ईन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटको गृहकार्य सुरु भएको जनाएको छ ।

 थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिने थाहा नगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिए । अन्य पूर्वाधारको काम भन्दा पनि कृषि र स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट आउने उनले बताए । यो वर्ष कोरोना भाइरसका कारण आन्तरिक आयमा पनि कमी आउने र अगामी वर्षको बजेटले विदेशबाट आएका युवालाई पनि समेटिने बताए । यता उपमेयर खड्ग गोपालीले भने आगामी बजेटको लागि राजस्व परामर्श समितिको बैठक बसिरहेको र राजस्वबारे छलफल भैरहेको जानकारी दिए । थाहा नगरपालिकालाई संघीय सरकारले आगामी वर्षका लागि वित्तीय समानीकरण तर्फ १३ करोड ६ लाख बजेट विनियोजन गरेको छ । गतवर्ष १३ करोड २१ लाख बजेट विनियोजन भएको थियो । यस्तै सशर्त अनुदानतर्फ भने २५ करोड १८ लाख बजेट छुट्टाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत हरीलाल पुरीले अबको केही दिनमै नगरका १२ वडाहरुमा बजेट सिलिङ पठाइने बताए । आगमी वर्षका लागि वडामा भने केही बजेट घटेर जानसक्ने उनले बताए ।

 उत्तरी क्षेत्रमै रहेको इन्द्रसरोवर गाउँपालिकाले स्वास्थ्य, कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको छ । यो वर्ष मुख्य राजस्वको स्रोत ढुंगा, गिट्टी बालुवाको काम ठप्प भएका कारण आन्तरिक आयमा कमी आउने गाउँपालिकाकी उपाध्यक्ष उमा लामाले बताइन । उनका अनुसार गाउँपालिकामा राजस्व परामर्श समितिको बैठक बसेर बजेट कति ल्याउने भनी छलफल भैरहेको छ । राजस्व नउठेका कारण आगामी आर्थिक वर्षको बजेट गत वर्षको भन्दा कम आउने उनले जानकारी दिइन ।   अबको केही दिनभित्रै आफ्नो वडाहरुमा बजेट सिलिङ पठाउने तयारी भएको इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर एडीले जानकारी दिए ।  आगामी आर्थिक वर्षका लागि संघले गाउँपालिकालाई ७ करोड ३७ लाख वित्तीय समानीकरणतर्फ र १० करोड ९२ लाख सशर्त अनुदानतर्फ बजेट विनियोजन गरको उनले जानकारी दिए ।

यस्तै भीमफेदी गाउँपालिकाले भने आफ्ना ८ वटै वडालाई ६०/६० लाखको बजेट सिलिङ पठाएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि राजस्व परामर्श समितिको बैठक बसेर अनुमानित आय पनि प्रक्षेपण गरिसकेको भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरले जानकारी दिए । गाउँपालिकाले ३१ जेठसम्म योजना पेश गर्न वडालाई निर्देशन दिएको उनले बताए । भीमफेदी गाउँपालिकाले आगामी वर्षमा स्वास्थ्य, शिक्षालाई बढी प्राथमिकता दिने भएको छ । संघीय सरकारले भीमफेदी गाउँपालिकालाई आगमी वर्षको लागि १० करोड ६ लाख वित्तीय समानीकरण र सशर्त अनुदानतर्फ १४ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत वर्षभन्दा यो वर्ष संघले वित्तीय समानीकरण बजेट भीमफेदी गाउँपालिकालाई बढाएर विनियोजन गरेको हो । यस्तै बागमती प्रदेश सरकारले पनि आउँदो असार १ गते बजेट ल्याउँदै छ । संघले स्थानीय तहहरुलाई बजेट विनियोजन गरिसकेको छ भने प्रदेशले गरेपछि स्थानीय तहले असार १० गते नीति तथा कार्यक्रम पेश गर्ने भएका छन् ।


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०