Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका स्थानीय तहका  प्रमुख उप-प्रमुखले यसरी मनाए तिहार

नेपालीहरुको महान पर्व दशै पछिको ठुलो चाड तिहारको यमपञ्चको पाँचौ दिन भाइटिका भब्यताका साथ मनाइएको छ । यस दिन दिदी बहिनीहरुले आफ्ना दाजु भाईहरुको सुख, समृद्धि, दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरंगी र मखमलीले पुजा गरेर भाईटिका मनाइने गरिन्छ ।

भाइटिकाको दिन मकवानपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कसरी मनाउदैछन भन्ने विषयमा विभिन्न मकवानपुरका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुसंग हामीले फोन मार्फत नै सम्पर्क गरि तिहारको बारेमा कुराकानी गरिएका छौं । बकैया गाउँपालिकाका उपप्रमुख सरला बोलखेका २ दाजुभाइ छन तर दाइ विदेशमा हुनुभएको कारण भाइ रामशरण बोलखेलाई उनका दुई दिदिबहिनीले टिका लगाएर यस वर्षको तिहार मनाएकी छिन् । उनका अनुसार अघिल्लो बर्षहरुमा झै देउसी भैलोको बाक्लो रौनक त छैन तर पनि उनको भाई विदेशबाट टीका लगाउन आइपुगेकाले तिहारमा रौनक महशुल गरेको बताइन्् । 

मनहरी गाउँपालिकाका उप प्रमुख मनिला विष्टले पनि आफ्नो माइतीघरमा पुगेर ३ जना दाजुभाईलाई भाइटिका लगाएको बताइन् । ६ दिदिबहिनीले ३ दाजुभाइहरु दिपक कार्की, सुरेन्द्र कार्की र सरोज विष्टलाई भाइटिका गराएका हुन् । चाडवाड पहिले र अहिलेमा खास भिन्नता नभए पनि आफु जनप्रतिनिधि भैसकेपछी अघिल्ला चाडवाडहरुमा भन्दा अहिले सोच विचार गरेर बोल्नु पर्ने र रमाइलो गर्नु पर्ने भएको उनले महशुस गरेको बताइन् । थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली भने साइतमा टिका लगाउनका लागी दाजुभाइहरु जम्मा नभएको कारण बेलुकी मात्र टिका लगाइएको बताए । उनले आफ्नो एउटी मात्र दिदि बुद्धमाया गोपालीको हातबाट टिका लगाएर भाइटिका मनाएका छन् ।     तिहारको रौनकमा खास फरक नदेखिए पनि यो वर्ष पहिलेका वर्षमा झै जुवातास खेलिएको नपाएको र जाँड रक्सी खाएर हिड्नेहरु पनि कम मात्र देखिएको उनले बताए । “गाउँमा तिहार सभ्य ढङ्गले मनाइको देख्दा मानिसहरु पहिले भन्दा धेरै सचेत र चेतनशील भैसकेको आभास भयो“–उपप्रमुख गोपालीले भने ।

तिहारमा सबैजना रमाइलो गर्ने भए पनि विभिन्न कारणवस मकवानपुरका स्थानीय तहका केहि प्रमुख तथा उपप्रमुखहरुले भने तिहार मनाउन   पाएनन् । थाहा नगरपालिकाका नगर प्रमुख लबशेर विष्टले सुतक परेका कारण तिहारको टिका लगाउन नपाएको बताए । थाहानगरमा तिहारमा हुने विकृत्तीको गतिविधि भने पहिले भन्दा आजभोलि निक्कै कम भएको प्रमुख विष्टले बताए ।

इन्द्रसरोवर गाउँपालिकाका प्रमुख जीवन लामा भने यो पटक तिहार मनाउन नमिल्ने भए पनि आफ्ना ३ दाजुभाइ र १ बहिनी जीनी लामाको साथमा भेटघाट र रमाइलो गरेर तिहार मनाएको बताए ।

उता मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेतीले भने तिहारमा भाइटिकाको टिका लगाउन मात्र भ्याए । टिका सकिने बित्तिकै आफ्नै गाउँपालिकाको स्थायी   सवारी चालक तथा नेपाल कम्युनिस्ट पार्टीका सदस्य वडा नं ९ का गोपाल न्यौपानेको निधन भएको दुखद् खबर सुनाए । उनी हामीले फोन गर्दा मलामी हुन देवघाट पुगेका थिए । 

यस्तै इन्द्रसरोवर गाउँपालिकाका उपप्रमुख उमा कुमारी लामाले पनि आफ्नो ठुलोबुबाको निधन भएको कारण दशै  र तिहार दुबै मनाउन पाइनन् । उनका अनुसार गाउँमा २०÷२५ घर परिवार नै शोकमा रहेको बताए ।

तिहारको रमाइलो पर्व हुँदाहुँदै पनि राक्सिराङ गाउँपालिकाका उपप्रमुख शर्मिला हिम्डुङले भने आफु र आफ्नो परिवार कृष्टियन भए पनि कुनै बिभेद नगरी तिहारको सम्मान गरेको    बताउँछिन् । उनले भनिन्–आफ्नो गाउँ शहरमा तिहारको रौनक छ र घरमा पनि देउसी भैलो खेल्न आउँछन् ।  “घरमा आउने देउसीहरुलाई आफुले सक्ने दान दिन्छु, म आफु फरक धर्मको भए भन्दैमा धार्मिक बिभेद भने कहिल्यै गर्दिन“–उनले प्रष्ट्याइन् ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।