nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्पपीडितलाई नमुना घर

मकवानपुरको इपापञ्चकन्या ७, तारकी सावित्री कठेतको श्रीमान् बितेको २२ वर्ष भयो । श्रीमान् बितेपछिका दिनहरु उनका लागि सङ्घर्षपूर्ण रहे । श्रीमान् हुुँदाका बखत आइपर्ने समस्याहरु समाधानका लागि उनलाई त्यति गाह्रो हुन्नथ्यो । अहिले ६५ वर्षको उमेरमा एक्लो जीवन बिताइरहँदा उनलाई लाग्छ, ‘उमेर छउञ्जेलभन्दा पनि साहारा त बुढेशकालमा पो चाहिँदो रहेछ ।’ उनी भन्छिन्, ‘शरिरमा बल छँदा जस्तोसुकै कठिन काम गर्नसक्ने साहस पलाउथ्यो भने अहिले त्यसै मन मरेर आउँछ, केही गर्न मन लाग्दैन ।’ जीवनमा निकै सुखदुःख संगालेकी उनलाई बुुढेशकालमा आफन्तहरुले परेको बेला आवश्यक मद्यत गरुन भन्ने लाग्छ । जहाँ समस्या, त्यहाँ समाधान पनि हुुन्छ । जहाँ विपद् आइपर्छ, त्यहाँ जीवन जीउने अवसर पनि आउँछ भन्ने जीवनको भोगाईको क्रममा उनले बुझेकी छिन् । उनको यहि बुुझाई यतिबेला सिद्घ भएको छ । वि.सं.२०७२ साल वैशाख १२ गते नेपालमा आएको विनासकारी भूकम्पले भत्काएको उनको घर बनेको छ । पहिलेको भन्दा अहिले निर्माण भएको भए घर उनलाई औधि राम्रो लाग्छ । राडो नेपालको सहजीकरण तथा टियरफण्डको आर्थिक सहयोगमा निर्माण भएको घरको नाम ‘भूकम्प प्रतिरोधि नमूना घर’ हो । स्थानीय वडा नागरिक मञ्चले  एकल महिला भएकाले उनलाई यस खालको घर निर्माणमा सघाउ पुयाउनुपर्ने सिफारिस गरेपछि गाउँ स्तरिय विपद् व्यवस्थापन समितीले उनको घर निर्माणका लागि निर्णय गरेको हो । गाउँमै रहेका तालिम प्राप्त मिस्त्रिले निर्माण गरेको भूकम्प प्रतिरोधि नमूना घर पाएकी उनी अहिले दङ्ग छिन् । भन्छिन्,‘कतिपय ठाउँका एकल महिलालाई समाजले अनेक लाञ्छना लगायको समाचार सुनेको छु तर मलाई त गाउँ समाजले घर निर्माणमा सहयोग गरिदियो । ’
     नव निर्मित दुई कोठे घरमा केही दिनमै सर्ने उनको योजना छ । आफ्नो लागि बनाइएको घर पूर्ण रुपमा भूकम्प प्रतिरोधि भएकाले उनी अब यो घर आफू बाँचुञ्जेल सम्मका लागि सुरक्षित हुनेमा ढुक्क छिन् । ‘ जग खन्ने देखि छाना छाउने बेलासम्म असाध्यै ध्यान दिएर यो घर बनाएका छन् । ’ सावित्री भन्छिन्, ‘ यसरी बनाइएको घर त कहिल्यै पनि भत्कदैन होला । ’ घर निर्माण गर्दाका चरणहरु जग, डीपीसी, शिल्ड, स्टिच, लिन्टेल, रुफबेण्ड, वालप्लेट, छाना लगायतका कुरामा ध्यान दिइएको छ । यतिमात्रै होइन उनलाई घरसंगै ट्वाइलेट, चट्याङ्बाट सुरक्षा प्रदान गर्न अर्थिङ्, सुुधारिएको चुल्हो, सोलार तथा गटर पाइपको व्यवस्था गरिएको छ । भूूकम्प प्रतिरोधि नमूना घरमा व्यवस्थापन गरिएका यि सुविधाले उनलाई थप हर्षित बनाएको छ । ‘घरसंगै व्यवस्था गरिएको अन्य सुविधाले मेरो घर अझै सुरक्षित बनाउँछ भन्ने लाग्छ । ’ उनी भन्छिन्, ‘यस खालको सुविधा दिलाउने संस्थाप्रति आभारी छु । ’ यदि संस्थाले आफ्नो घर निर्माण नगरिदिएको भए अरुको आश्रयमा शरण लिइरहनुपर्ने अवस्थामा आफू हुने उनी बताउँछिन् । ‘संस्थाले घर सहयोग गरेकाले अरुको शरण लिनुनपर्ने भो । ’ उनी भन्छिन्,‘आफ्नै घरमा बस्न पाएपछि आफन्तलाई पनि दु:ख हुुदैन ।

   चार छोरा र एक जना छोरीकी आमा उनी एकल जीवन बिताइरहँदा पनि जीवनप्रति खासै निराशा राख्दिनन् । भन्छिन्, ‘जीवनमा सुख, दु:ख आइपर्छ, दु:खका बेला सहयोगीहरु पाइँदो रहेछ । एक्लै जीवन बिताउने बाध्यता आइपरेपनि हिम्मत हार्दिन ।’ आफ्नो थोरै बारीमा लगाइने खेतीपातीबाट प्राप्त हुने उत्पादनले उनी आफ्नो जीवन गुजारा गर्दै आइरहेकी  छिन् । बुढेशकालमा एकल जीवन बिताइरहँदा उनका लागि नव निर्मित भूकम्प प्रतिरोधि नमूूना घर साहारा बनेको छ । भन्छिन्,‘ यो बलियो घर त मेरो लागि बुढेशकालको साहारा नै  हो । ’