nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बेलायतमा कोरोना विरुद्धको खोप बन्यो, छिट्टै बजारमा आउने !

uk_corona_1-1590457528.jpg

बेलायतका सरकारी अधिकारीहरु कोरोना भाइरस विरुद्धको खोप छिट्टै बजारमा आइसक्ने विश्वासमा छन् । ब्रिटिश सरकारले आउंदो सेप्टेम्बर महिनासम्ममा कोभिड १९ खोपका ३ करोडसम्म डोज उपलब्ध भइसक्ने जनाएको छ ।

व्यापार व्यवसाय मामिला हेर्ने बेलायती मन्त्री आलोक शर्माले अक्सफोर्ड विश्वविद्यालयमा खोपको क्लिनिकल परीक्षण राम्रोसंग अगाडि बढिरहेको र त्यो सफल भए गर्मी याम नसकिंदै खोप तयार हुने बताएका छन् ।

मन्त्री शर्माले अक्सफोर्ड र इम्पेरियल कलेजमा अहिले जारी परीक्षणलाई सघाउन सरकारले थप ८ करोड चालिस लाख पाउन्ड उपलब्ध गराउने पनि घोषणा गरे ।

यसअघि सरकारले खोप विकासका लागि अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको समूहलाई २०र२० गरि ४० मिलियन पाउण्ड कोष उपलब्ध गराइसकेको छ ।

शर्माले खोप विकासका लागि ब्रिटिश बैज्ञानिक तथा अनुसन्धाताहरुको प्रयत्नको प्रशंसा गर्दै आफूलाई गर्व लागेको पनि बताए ।

औषधि उत्पादक कम्पनी आष्ट्राजेनेकाले बेलायतका लागि सेप्टेम्बरसम्म तीन करोड डोज उपलब्ध गराउने गरि अक्सफोर्ड विश्वविद्यालयसंग सम्झौता गरेको छ । उक्त फर्मास्यूटीकल फर्मले बेलायतका लागि कुल दश करोड डोज उपलब्ध गराउने सम्झौता छ । मन्त्री शर्माले उक्त खोपको पहुंच पाउने बेलायत पहिलो फगिगप हुने भएपनि आफ्नो सरकार विकासोन्मुख देशहरुमा समेत न्यूनतम मुल्यमा खोप उपलब्ध गराउन कटिवद्ध रहेको बताए ।

स्वास्थ्य मन्त्री म्याट हयानककले संसदमा बोल्दै खोपमा सफलता मिले तीन करोड डोज पहिला जोखिममा रहेका मानिसलाई प्रदान गरिने बताएका थिए ।

तर, ब्रिटिश सरकारका मुख्य वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले प्रभावकारी खोप विकासको प्रत्याभूति अहिल्यै गर्न नसकिने बताएका छन् ।

आगामी जुनदेखि मानव परीक्षण शुरु गर्ने तयारी गरिरहेको इम्पेरियल कलेज लन्डनका प्राध्यापक रोविन स्याटकको भनाइमा ब्रिटेन, अमेरिका, चीनलगायत विकसित मुलुकमा कम्तीमा सयवटा परीक्षण जारी छ ।

बेलायतमा कोभिड १९ विरुद्धको खोप मानिसमा परीक्षण शुरु भइसकेको छ । बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले गत २३ अप्रिलदेखि मानिसमा कोभिड १९ विरुद्धको नयां खोप परीक्षण शुरु गरेको हो । पहिलो चरणमा १८ देखि ५५ वर्षका करिब एकहजार जनामा परीक्षण भएको छ । उक्त विश्वविद्यालयले परीक्षणको दोश्रो चरण प्रवेश भएको जनाउंदै ज्याब लिन बेलायतभर १० हजार दुई सय ६० जना स्वस्थ स्वयंसेवकलाई आव्हान गरेको छ । अक्सफोर्डका वैज्ञानिकहरुले दोश्रो र तेश्रो चरणको परीक्षणमा ५५ वर्ष माथिका वयस्क र ५ देखि १२ वर्षसम्मका बालबालिकालाई सहभागी गराउने छन् ।

अक्सफोर्ड खोप समूहले परीक्षणको अर्को चरण वृद्धवृद्धाहरुको रोग प्रतिरोध प्रणालीले यो खोपप्रति कस्तो प्रतिक्रिया जनाउंछ भन्नेमा केन्द्रित रहने जनाएको छ । परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बरसम्म प्राप्त हुने अनुसन्धानकर्ताहरुको विश्वास छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ विरुद्धको खोप विकास गर्न अहिले कयौं मुलुक जुटिरहेका छन् । विभिन्न देशका वैज्ञानिकहरुबीच खोप ल्याउन अहिले होड नै चलेको छ ।

उता, इम्पेरियल कलेज लन्डनले जुनदेखि मानव परीक्षण शुरु गर्दैछ ।

यो कस्तो खोप होर ?

ChAdOx1 nCoV-19 भन्ने नया खोप ChAdOx1 बाट बनेको छ, जुन चिम्पान्जीहरुमा रुघा खोकी संक्रमणको कारण रहेको रुघा खोकी भाइरसको कमजोर प्रतिकृति हो।

अनुसन्धानकर्ताहरु उनीहरुले तयार गरेको नयां संस्करणले मानव शरीरलाई परिवर्तित प्रोटिनलाई चिन्न र त्यसको मुकाबिला गर्न एउटा प्रतिरोध प्रणालीको विकास गर्न सघाउने आशा गरेका छन् ।

अन्य देश पनि लाभान्वित हुने

कोभिड–१९ खोप छिट्टै बजारमा आउने सम्भावनाले बेलायतवासी आशावादी देखिएका छन् । बर्मिङघम युनिभर्सिटीमा औषधि विज्ञानका सिनियर लेक्चरर एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल बेलायतमा खोप विकासको प्रगतिले आशावादी हुन सकिने बताउँछन् ।

‘अहिले विश्वभर सयजति प्रोजेक्ट सुरु भएका छन् । एउटा प्रक्रिया सफल भएन भने अर्को गरिन्छ,’ इन्टरनेसनल जर्नल अफ क्लिनिकल फार्मेसीका उपसम्पादकसमेत रहेका पौड्यालले भने, ‘भाइरस क्लेभर माइक्रो अर्गानिज्म हो । यसले छिट्टै आफ्नो स्वरूप परिवर्तन गर्ने भएकाले यो चुनौतीपूर्ण पनि छ ।’

पौड्यालका भनाइमा सामान्यतः खोप विकासका लागि पहिला कम्प्युटर मोडेल, त्यसपछि सेल, मुसा, कुकुर, चिम्पान्जी, बाँदर हुँदै बल्ल मानिसमा परीक्षण हुन्छ । तर अहिले द्रुतगतिमा लैजानुपरेकाले वैज्ञानिकहरू मुसा, बाँदरपछि मान्छेमा एकैपटक ‘ट्रायल’ गर्न लागिरहेका छन् ।

भाइरस संक्रमण कम भयो भने ‘ट्रायल’ गर्न गाह्रो हुने भएकाले अहिले वैज्ञानिकहरूले अस्पताल, केयर होममा काम गर्नेमा परीक्षण गरिरहेका डा. पौड्यालले बताए । ‘सार्स, मर्सजस्ता भाइरस खोप नबन्दै हराएपछि खोपको ‘ट्रायल’ हुन पाएन । त्यसकारण भ्याक्सिन परीक्षण छिटो गर्नुपर्ने चुनौती छ,’ पौड्याल भन्छन् ।

बेलायत वा अन्य देशमा खोप परीक्षण सफल भयो भने नेपालजस्ता कम विकसित मुलुकमा पुग्न पनि धेरै समय नलाग्ने पौड्यालको विश्वास छ । ‘खोप विकास गर्न विभिन्न च्यारिटेबल संस्थाबाट डोनेसन भएकाले नेपाल पुग्न समय र पैसा धेरै नलाग्ने देखिन्छ,’ पौड्यालले भने ।

यसैबीच ब्रिटेनको सरकारी निकाय पब्लिक हेल्थ इंगल्याण्डले पहिलोपटक कोरोना भाइरस एन्टीबडी टेष्ट गर्न अनुमति दिएको छ ।

-नागरिकखबरबाट

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)