Saturday, 20th June, 2026
वि.स.

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

himpat-1612345219.jpg

 पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।  जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार उक्त प्रणाली पूर्व सर्ने क्रममा शुक्रबार प्रदेश नं २ का केही स्थान र अन्य प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । 
शनिबार सो प्रणालीको असर गण्डकी, वाग्मती, प्रदेश नं १ र २ मा रहनेछ । यी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १ मा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको औँल्याइएको छ । शनिबार रातिबाट क्रमिकरुपमा मौसममा सुधार हुने जनाइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।  त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम नौ दशमलव छ डिग्री सेल्सियस रहेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०