Monday, 15th June, 2026
वि.स.

बाहिरी जिल्लाबाट मकवानपुर भित्रिएकाको आरडीटी

RDT-1588587026.jpg

मकवानपुरमा अन्य जिल्लाबाट आएकाहरुको पनि कोरोना आशंकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) सुरु गरिएको छ । पहिलो चरणमा विदेशबाट फर्किएकाहरु र विभिन्न स्थानको क्‍वारेन्टाइनमा बसेकोहरुको परीक्षण सकिएसँगै लकडाउनमा विभिन्न जिल्लाबाट मकवानपुर भित्रिएकाहरुको आरडीटी विधिबाट परीक्षण सुरु गरिएको हो ।


‘विदेशबाट फर्किएका र क्‍वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षण सकिएको छ । हामीले थुनुवा र कैदीबन्दीहरुको समेत परीक्षण गर्‍यौं’, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले भने । उनले अहिले तराईका जिल्लाहरुबाट आएकाको आरडीटी भइरहेको बताए ।
उनका अनुसार प्रदेश सरकारबाट प्राप्त ८ सय वटा आरडीटी किटबाट परीक्षण भइरहेको छ । हालसम्म मकवानपुरमा ६ सय १४ जनाको आरडीटी भइसकेको छ । उपाध्यायले भने, ‘स्थानीय तहसँगको छलफलपश्चात् अन्य जिल्लाबाट आएकाहरुको परीक्षण गरिरहेका छौं ।’ उनले स्थानीय तहले अन्य जिल्लाबाट आएकाहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिरहेको बताए । छिमेकी जिल्ला बारा, पर्सा, रौतहट र चितवनमा समेत कोरोना संक्रमित भेटिएका कारण मकवानपुरमा थप सचेतता अपनाइएको कार्यालयले जनाएको छ ।


स्थानीय तहका स्वास्थ्यकर्मीहरुले विदेशबााट फर्किएका र अन्य जिल्लाबाट आएकाहरुको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छन् । सोही क्रममा शंकास्पद देखिए स्वाब संकलन गरी पीसीआरसमेत भइरहेको छ ।

हालसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ३ सय २२, थाहा नगरपालिकामा ५५, मकवानपुर गढीगाउँपालिकामा ७७, वाग्मती गाउँपालिकामा ३८, कैलाश गाउँपालिकामा ३९, मनहरी गाउँपालिकामा ४९, इन्द्रसरोबर गाउँपालिकामा १५, भीमफेदी गाउँपालिकामा ४८, बकैया गाउँपालिकामा २२ र राक्सिराङ गाउँपालिकामा नौ जनाको आरडीटी परीक्षण भइसकेको छ ।

-कान्तिपुरबाट