nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ शहरको ऐतिहाँसिकता मेटिन नदिने मन्त्री फुयाँलको प्रतिवद्धता

बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल संघीय राजधानी काठमाण्डौंबाट प्रदेश राजधानी हेटौंडा जाँदा होस् या प्रदेशबाट संघीय राजधानी फर्कदा चित्लाङ चन्द्रागिरी सडकबाटै ओहोर दोहोर गर्छन् । २३ सय वर्षदेखिको मुल बाटोलाई व्यवस्थित सडकको रुपमा विकास भैरहेका बेला मन्त्री फुयाँल अहिले त्यही बाटो भएर हिड्छन् । उनी, छोटो बाटो भएकै कारणले मात्र उक्त सडकबाट हिँडेका हैनन् । मन्त्री फुयाँल सडकको समयमै निर्माण सक्काउने अभियानमा छन् । क्यालेण्डर बनाएर स्थानीयलाई उत्साह थपेका छन्, सांसदहरुसंग सहकार्य गरेका छन् । र, भन्छन्–‘हामी संघ, प्रदेश र स्थानीय सरकार पनि संगै छौं, सडक नबनाउन कसैलाई छुट छैन।’

मन्त्री फुयाँलले विकासका ‘नम्स’ बुझेका छन् । विकासे तौर तरिकामा सिपालु भएकाले पनि होला उनी बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भए । ३ कार्तिकमा उनी मकवानपुर थाहानगरको विकासमा चासो राख्दै नगर क्षेत्र आए । औपचारिक अनौपचारिक कार्यक्रममा थुप्रै पटक थाहानगर आएका भए पनि पालिकाका लागि उनको पहिलो स्वागत थियो । नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीलगायत कार्यपालिका सदस्य र कर्मचारीहरुले उनको स्वागत गरे । उनी ऐतिहाँसिक पालुङ शहरको ऐतिहाँसिक सवाल उठान गर्न थाहानगर आएका थिए । मन्त्री आउने चाल पाएका पालुङ शहरका स्थानीयहरु चोकसम्म लिन आए । पालुङ शहर यस क्षेत्रकै मल्लकालिन इतिहाँस बोकेको नेवार बस्ती हो । 

पालुङ शहरमा स्थानीयहरुले बाजागाजासहित गरेको स्वागतले मन्त्री फुयाँललाई अल्मल्लिएको अनुभव भयो । र, उनले भनेः

‘........ अशनतिर छु.....
इन्द्रचोक तिर छु कि, 
मख्खनतिर छु ।’

औपचारिक कार्यक्रममा खुलेरै खुशी व्यक्त गरे । कला र संस्कृति युवापुस्तामा हस्तान्तरण भएको दृश्यले गद्गगद भए । किनभने, बाजा बजाउने अधिकांश ‘३० मुनिका’ थिए । कार्यक्रममा बागमती प्रदेशले यस वर्ष पालुङसहित मकवानपुरको ५ वटा ढुङ्गेधारा पुर्नस्थापना तथा पुर्ननिर्माण गर्ने योजना रहेको सुनाए । बागमती सरकारले ‘हरित बागमती प्रदेश अभियान’ सहित वातावरणमैत्री योजना बनाएर कार्यान्वयन गर्दै गरेको उल्लेख गरे । ताल तलैया, राजकुलो र ढुङ्गेधारा संरक्षणका कार्यक्रम प्रदेश सरकारले गर्ने योजना प्रस्तुत गरे । 

थाहा नगरपालिकाबाट आएको प्रस्तावलाई सहर्ष स्वीकारेको बताउँदै पालुङको ढुङ्गेधारा संरक्षणमा प्रतिवद्धता जनाए । मन्त्री फुयाँलले भने–‘ढुङ्गे धारा निर्माणको प्रस्ताव नगरबाट आएको छ, फल्चा भएको पाटी र सुक्नै नहुने जोर ढुङ्गेधारको संरक्षणमा तपाईहरु लाग्नूस सहयोग हुन्छ । ‘यहाँका नागरिकहरु सक्रिय हुनुस् स्थानीय तह र प्रदेशले सहयोग गर्छ, धेरै त लाख हैन चाहिने मध्येको ठीक्क–ठीक्क लाख’ उनले भने–‘हिजोको कलात्मकता बढ्नु पर्छ घट्न पाइदैन ।’ मन्त्री फुयाँलले सार्वजनिक कार्यक्रममै प्रस्ताव राखे–‘ज्यु कि मज्यू ?’ स्थानीयहरुले हर्षले ताली ठोक्दै मन्त्रीको प्रस्ताव स्वीकार्दै भने– ‘ज्यू.. ..ज्यू ।’

आफू २०५४ सालको तत्कालिन जिविस उपसभापति हुँदा नै भाषा जोगाउन रञ्जना लिपीको तालिम दिलाउने अभियानमा लागेकाले ऐतिहाँसिकता जोगाउन आफू प्रतिवद्ध रहेको बताए । ‘कुराले चिउरा भिज्दैन’, नेता मदनभण्डारीको ‘डाइलग’ सपट लिँदै भने–‘जनताको पाटोबाट स्थानीयहरुको समेत लगानी गर्नै पर्छ, घरैपिच्छे १÷१ रुपियाँ भएपनि संकलन गर्नूहोस ।’ आफू पनि यस अभियानमा सहभागी भएको घोषणा गर्दै नागरिकले संकलन गर्ने पैसामा १ हजार थपिदिए । स्थानीयको सहयोग मिसाउनू पर्ने बताउँदै नपुग पैसा प्रदेश सरकारले केही लाख प्रदान गर्ने बाचा गरे । जोर धारा र फल्चालाई आकर्षक बनाउन र पालुङको मौलिक संस्कृति झल्कने गरी निर्माण गर्न उनले स्थानीयलाई आग्रह गरे । छोरा छोरी बराबरी, गाउँ शहर बराबरीको प्रसंग कोट्याउँदै भने–‘यो विकास घर भएको ठाउँमा मैले विकासको धेरै कुरा गर्नु पर्दैन, यहाँका नागरिक सचेत छन् ।’
 
भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले पाःल्व, भगवती मन्दिर परिसर तथा पाण्डुकेश्वर मन्दिर क्षेत्रको समेत बेलुकी अबेरसम्म अवलोकन निरीक्षण गरेका थिए । कार्यक्रममा नगर प्रमुख लवशेर विष्टले नगर क्षेत्रमा रहेका ऐतिहाँसिक, पुरातात्विक सम्पदाको संरक्षणमा कार्य गरिरहेको बताउँदै प्रदेश सरकारको साथ आवश्यक भएको बताए । नगर प्रमुख विष्टले पालुङ शहरको फल्चा सहितको जोर ढुङ्गेधारा निर्माणका लागि सहयोग गरिदिन इस्टिमेट सहितको प्रस्ताव मन्त्री फुयाँललाई हतान्तरण गरे । 

थाहा नगरपालिका वडा नम्बर २ का अध्यक्ष गुप्त बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, नेकपाका नेता राजु नापित, श्यामभक्त श्रेष्ठ, बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष विमलकुमार ढकाल, स्थानीय समाजसेवी नेत्र प्रधान, दिपेन्द्र प्रधान, पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विकास कुमार तामाङलगायतकाको उपस्थिती रहेको थियो । पालुङ शहरका युवाहरुको नेवारी बजागाजासहितको उक्त कार्यक्रममा पालुङको ऐतिहाँसिकताको विषयमा सम्पदा संरक्षण समितिका अध्यक्ष जंगली राजकुमार प्रधानले जानकारी गराएका थिए ।  


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)