Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पर्यटन प्रवद्र्धन गर्न ‘कुन्छाल क्याम्पिङ’

K-cver-1519180901.jpg

पर्यटकीय गाउँ ‘कुन्छाल’लाई पर्यटकहरु माझ चिनाउनका लागि राष्ट्रिय रुपमै ‘कुन्छाल क्याम्पिङ’ थालिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ मा रहेको कुन्छाललाई देश विदेशमा चिनाउनको लागि नेपाल पर्यटन बोर्ड तथा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को सहयोगमा ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले यो अभियान संचालन गरेको हो । भिटोफका    पदाअधिकारीहरु सहितको टोली ५ फागुनमा कुन्छालमा रहेको होम स्टेमा आएर हुन् । भिटोफका अध्यक्ष राम सापकोटा ग्रामिण पर्यटन प्रवद्र्धनको लागि पर्यटन व्यवसायी र पत्रकारहरुको टोलीको नेतृत्व गर्दै कुन्छाल आएका हुन् । 

कुन्छाल आइपुगेका भिटोफ अध्यक्ष सापकोटाले मकवानपुरकै ‘पर्यटकीय प्रडक्टक’ भएको कुन्छाल गाउँ र नजिकका क्षेत्र उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनले भने–‘हामीले ‘पर्यटकीय प्रडक्टक’ भएको क्षेत्रको प्रवद्र्धन गर्ने काम गर्छौ, त्यसकै लागि हामी कुन्छाल आएका हौं ।’ भिटोफले वर्षैपिच्छे मुलुकको उत्कृष्ट पर्यटकीय गन्तव्य छनोट गरी त्यसको प्रवद्र्धन गर्ने काम गर्दछ । सन् २०१८ का लागि थाहानगरको कुन्छाल पर्यटकीय गन्तव्य गाउँ घोषणा भएको छ । कुन्छालसंगै स्याङजा पित्लेक र धादिङको सिद्धलेक सलाङलाई पर्यटकीय गाउँको रूपमा घोषणा गरेको थियो । मुलुकमा अब सबैभन्दा भरपर्दो व्यवशाय पर्यटन भएको बताउँदै अध्यक्ष सापकोटाले अब पर्यटकीय महत्व बोकेको क्षेत्रको मार्केटिङमा लाग्नू पर्ने बताए । यसका लागि थाहानगरको कुन्छाल पर्यटकीय बजारमा बिक्ने विशेषता भएको गाउँ भएको उनको भनाई रहेको थियो । ग्रामिण पर्यटन प्रवद्र्धनको लागि क्रियाशील भिटोफको टोली ५ र ६ फागुनका लागि थाहा नगरपालिकाको कुन्छाल आएको हो । यहाँको पर्यटन प्रवद्र्धनका लागि अध्ययन अवलोकन भ्रमण गर्न उनीहरु आएका हुन् । 

कार्यक्रममा भिटोफका पूर्व अध्यक्ष शिव लामिछानेले मकवानपुरको थाहा नगरपालिका पर्यटन प्रवद्र्धनका लागि होम स्टे संजाल बनाएरै अघि बढ्न सक्ने नगरपालिका भएको बताए । लामिछानेले भने–‘थानकोटबाट चित्लाङ, कुन्छालहुँदै दामनपालुङसम्मको रुट निकै प्रभावकारी हुन्छ ।’ एउटै नगर भइकन पनि साँस्कृतिक तथा वातावरणीय विविधताका कारण यहाँ पर्यटन प्रवद्र्धनका लागि सहज हुने लामिछानेले बताए । थाहानगरको साथै इन्द्रसरोवरसम्म पर्यटकीय पहुँच विस्तार गर्न सके यस क्षेत्रको सम्वृद्धि पर्यटन उद्योगबाटै सम्भव भएको उनको भनाई थियो । देशमै कास्की जिल्लापछिको दोस्रो पर्यटकीय लगानी भएको मकवानपुरमा योजनावद्ध रुपमा पर्यटन विकासको लागि काम गर्नुपर्ने बताए । उनले मकवानपुरको पर्यटन प्रवद्र्धनमा पूर्व स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्टको ठूलो योगदान रहेको सम्झे । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले अहिले घुमघामका लागि सवारी साधनमा भन्दा बढि आकर्षण ट्रेकिङमा भएकोले त्यसका लागि कुन्छाल गाउँ र आसपासको क्षेत्रहरु प्राकृतिक रुपमै ‘पर्यटकीय प्रडक्टक’ भएर वरदानको रुपमा रहेको बताए । चित्लाङका होम स्टेदेखि कुन्छाल हुँदै नगरका कहाँ कहाँ होम स्टे छन् त्यस क्षेत्रलाई जोड्दै हेम स्टे ट्रेकिङको रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । यसो गर्न सके पर्यटन प्रवद्धनको साथै रोजगारीको समेत सृजना हुने जानकारी गराएका थिए । ‘अहिले पर्यटकहरु ‘ब्याक टु नेचर’ भएकोले हामीले त्यो संभावना यहाँ प्रशस्त देख्यौं’–अध्यक्ष दाहालले भने ।  

कुन्छाल आइपुगेका टोलीलाई वडा अध्यक्ष हेरमान गोपाली, शिक्षक तथा गाउँका नाइके निराजन गोपाली, शिक्षक रुपचन्द्र गोपाली, पत्रकार कुमार नेगी लगायतले गाउँको विशेषता तथा चालचलनको विषयमा जानकारी गराएका थिए । कार्यक्रममा वडा अध्यक्ष विष्टले गाउँलाई पर्यटकीय गाउँको रुपमा विकास गर्नको लागि आफुहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरे । गाउँमा अएका टोलीलाई वडा अध्यक्ष तथा गाउँलेहरुले टिका लगाएर नेवारी बाजागाजा सहित स्वागत गरेका थिए । एक रात दुई दिनको अवलोकन भ्रमणका लागि आएका पर्यटन प्रवद्र्धनमा सहयोग गर्दै आएका संद्धसंस्था, पर्यटन व्यवशायी तथा पत्रकार सहितको टोलीको भ्रमणले गाउँको प्रचार प्रसारमा ठूलो योगदान हुने वडा अध्यक्ष गोपालीले विश्वास व्यक्त गरे । यस अवलोकन भ्रमणले पर्यटक, पर्यटन व्यवसायी र गाउँलाई जोड्ने पुलको रुपमा काम गर्ने भिटोफ अध्यक्ष सापकोटाले बताए । गोपाली समुदायको बसोबास रहेको कुन्छाल गाउँ थाहा अभियानसँग पनि जोडिएको छ ।

कुन्छाल प्राकृतिक दृश्यावलोकन, कृषि पर्यटन, स्थानीय खाना र संस्कृतिका धनी मानिन्छ । गोपाली समुदायले तानबाट कपडा बुन्ने प्राचीन परम्परालाई जीवितै राखिरहेका छन् । 

यस कारण घुम्न जाऔं ‘कुन्छाल’ 

ऐतिहासिक गोपालीहरुको बसोबास रहेको मकवानपुर थाहा नगरपालिकाको कुन्छाल गाउँ सहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भएको हो । ३८ औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालल पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष ३ गाउँलाई पर्यटकीय गाउँको रूपमा घोषणा गर्ने र प्रवद्र्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको छ । गाउँ घोषणा गरिसकेपछि प्रबद्र्धन र प्याकेज बनाउनु पर्ने र सोही अनुरूप पर्यटकले पनि मन पराउने खालको हुनु पर्ने मापदण्ड रहेको छ । 

पुरानो बस्ती कुन्छालबासी असाध्यै मिहिनती छन् । कृषि र पशुपालन उनीहरुको मुख्य पेशा हो, आम्दानीको स्रोत पनि यहि हो । पछिल्लो समय गोपाली समुदायले होम स्टे सञ्चालनका लागि आफैले खर्च जुटाएर आवश्यक व्यवस्थापन थालेका छन् । महिला पुरुषमा कामको हिसाबले भेदभाव गर्दैनन् । घर भान्साको काम गर्न पुरुष पनि उस्तै सिपालु छन् । कुन्छाल गाउँलाई सुन्दर र मनोरम होम स्टे गाउँमा परिणत गर्ने गोपालीको प्रण छ । ऐतिहासिक गोपाली जातीको घना वस्ती रहेको यो गाउँ हेर्दै लोभलाग्दो छ । धेरै र बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना      घरहरु टाढाबाट राताम्मे देखिन्छन् । 

गाउँमा हुने नेवारी संस्कृति र परम्परा नै कुन्छाल गाँउको विशेषता हो । कुन्छाल भएको उपत्यकाको नाम टिष्टुङ हो । त्रिभुवन राजपथबाट ओरालो भर्दाझर्दै एउटा निकै सुन्दर बस्तीले स्वागत गर्छ । एकैनासका घरहरु रहेको उक्त बस्ती मकवानपुर जिल्लाको टिष्टुङस्थित एउटा कुनातिर अवस्थित रहेकाले कुन्छाल गाउँका नामले रुपमा परिचित छ । सुन्नुभएको होला, काठमाडौंमा राज्य गर्ने पहिलो वंश ‘गोपाल वंश’ लखेटिएका थिए । लखेटिएर शासकहरु कुन्नी कता गए, तर तिनै गोपाल वंशको खलक भने कुन्छाल गाउँमा छन् । 

गाउँ नजिकैको ढुङ्बु खेतमा  रोपेको धानको चामल नै कुन्छालबासी खानको लागि प्रयोग गर्छन् । गाउँ छेवैको बजारमा मिल आइसकेको भए पनि उनीहरुलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउँछन् । बाह्यि पर्यटक ब्राउन राइस भनेसी  हुरक्कै हुन्छन् । यो पर्यटकका लागि नयाँ स्वाद पनि हो । घरघरमै उड्कल भएपछि आफ्नै खेतको ताइचिनको चिउरा उनी डङ–डङ कुट्दै निफनेर पर्यटकलाई चखाउँछन् । सिस्नको सुप, खोले सागको तरकारीको गाउँले स्वाद पनि कुन्छालमै लिन सकिन्छ ।

गाउँमै फलेको खुर्पानीका, किवी नास्पाती र कोदोको स्थानीय वाइन कुन्छालको ब्राण्ड जस्तै भएको छ । पुगेका पर्यटकले त्यसको स्वाद नलिइ फर्कदै फर्कदैनन् । निगार र गुराँसको वाइन अर्कोथरी घरेलु स्वाद हो । नेवारी भोजको शैलीमा सामूहिक नेवारी खाना खान पाउने भएकोले कुन्छाल पुग्दा समुहिकताको महशुस हुन्छ । यहाँको सत्कारले सबैलाई एकतामा बाँधेको भान गराउँछ । 

कुन्छाल घुम्न आउने पर्यटकले यहाँको रहनसहन, नेवारी संस्कृति मात्र होइन घरमा लैजाने कोशली पनि पाउँछन् । मूलाको सन्चना यहाँ प्रशिद्ध छ भने सिस्नो, गुन्द्रक, खोले साग, टिम्मुरको अचार घरैमा लगेर पनि खान सकिन्छ । त्यसो त यहाँ बाह्रै महिना हरियो तरकारी उत्पादन हुने भएकोले यो पनि कोशेलीकै रुपमा लैजान सकिन्छ ।

त्यस्तै गाउँकै उड्कलमा कुटेको चिउरा, ओखलमा कुटेको ताइचिन चामल यहाँको अर्को विशेषता भएकोले यसलाई पनि कोशेलीको रुपमा आफ्नो घर लैजान सकिन्छ भने घरबुना नेवारी पोशाक त झन यहाँको चिनो नै मान्छन् । 
 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।