Wednesday, 17th June, 2026
वि.स.

पर्यटकलाई ३० प्रतिशत छुट दिने व्यवसायीको घोषणा

sauraha-1601259048.jpg

कोरोना सङ्क्रमणसँगै बन्द रहेको सौराहाको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।
कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताउनुभयो । उहाँले भन्नुभयो, व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाैं ।

लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाई र सम्पूर्ण तयारी गर्ने र सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । आउँदो दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ । कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागिपरेका छौँ, भट्टराईले भन्नुभयो, दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।

पर्यटन दिवसका अवसरमा सौराहाका पर्यटनसँग सम्बन्धित क्षेत्रीय होटल सङ्घसहित ११ वटा सङ्घसंस्थाले कार्यक्रमको आयोजना गरेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दिपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताउनुभयो । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी सङ्घका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएको सन्देश प्रवाह गरिदिन अनुरोध गर्नुभयो ।

सौराहामा १२० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् । सौराहाका होटलमा पाँच हजार ५०० जनाको क्षमता रहेको छ । गएको चैत ११ गतेबाट बन्द रहेका होटल असोज १ गते यता क्रमशः सरसफाइ र खुल्ने क्रम शुरु भएको छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् ।

पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो । लकडाउनको अवधिमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ ।