Monday, 15th June, 2026
वि.स.

पटकाबाट हेटौंडाको कपास गोदाममा आगलागिको आशंका

kapas_uddhoj-1572229589.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ स्थित चौकीटोलमा रहेको कपास र फोम गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । स्थानीय विनोद ढकालले भाडामा दिएको दुई सटरसहितको चार कोठे गोदाम घरमा १० कार्तिक साँझ आगलागी भएको थियो । साँझ करिव ७ वजेको समयमा भएको आगलागी करिव तीन घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।

आगलागी जितपुर–सिमरा र हेटौँडाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी एवं स्थानीय जुटेका थिए । घटनास्थलमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेसहितको टोली पुगेको थियो ।

गोदाममा रहेको कपास र फोम रामविश्वास यादवको भएको जानकारी दिंदै प्रहरी उपरीक्षक सिंहले आगलागी लामो प्रयासपछि पूर्णरुपमा नियन्त्रणमा आएको बताए । उनका अनुसार गोदाममा रहेको कपास र फोम गरी करिव १४–१५ लाख रुपियाँ बराबरको क्षति भएको हुनसक्ने अनुमान गरिएको घटनाको बारेमा थप अनुसनधान गरिने जानकारी दिए । आगलागीबाट गोदाममा रहेको अधिकांश कपास र फोममा क्षति पुगेको छ ।

जेसिवी प्रयोग गरी गोदाममा रहेको कपास निकालेर आगलागी नियन्त्रणमा लिइएको थियो । पर्याप्त पानीको अभावमा आगलागी नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागी नियन्त्रणका लागि ल्याइएको दमकल प्रभावी नभएको पानी ल्याउन धेरै समय लगाएको भन्दै स्थानीयले आक्रोश जनाएका छन् । पटाका पड्काउनेक्रममा झिल्का गएर कपासमा आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।