Saturday, 20th June, 2026
वि.स.

नेपालमा शनिबारदेखि जलपंक्षीको गणना गरिँदै

jalapanxi-1609572229.jpg

हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ । 
 
नेपालमा यही पुस १८ देखि माघ ५ गते ९जनवरी २ देखि १८० सम्म हुने जलपन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत गरी ३०० भन्दा बढी जनशक्ति सम्लग्न रहेको बताइएको छ । यस वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह गरेका छन् ।

सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । नेपालमा १०० भन्दा बढी प्रजातिका जलपन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ । 
 
स्वयंसेवीरूपमा गरिएको यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए । रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०