Tuesday, 16th June, 2026
वि.स.

धादिङमा अवरुद्ध सडक अझै खुलेन, अरु केही ठाउँमा पनि सडक अवरुद्ध

photo-dhading-1595484457.jpg

लगातारको वर्षाका कारण अवरुद्ध केही सडकखण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् । 

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे(मुग्लिङ सडकखण्ड अझै अवरुद्ध नै छ । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि अवरुद्ध यो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेको सडक विभागले जनाएको छ । 

अप्ठ्यारो ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ । अहिले मुग्लिङ भएर धादिङ हुँदै काठमाण्डौ चल्ने कुनै पनि गाडी यो खण्डमा चलेका छैनन् । यात्रुलाई पैदल हिँड्नसमेत समस्या भएको छ । अहिले स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा प्रहरीको समन्वयमा सडक मर्मतको काम थालिएको भए पनि आज दिनभर नै खुल्ने संभावना नरहेको धादिङ प्रहरीले जनाएको छ । 

यस्तै पहिरोका कारण अवरुद्ध बेनी(जोमसोम(कोरोला सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड अवरुद्ध भएको हो । खुलाउन समय लाग्ने सडक विभागले जनाएको छ । 

यस्तै लामो समयदेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड पनि अझै सञ्चालनमा आएका छैनन । यो सडकखण्डको जबमु, झ्याले, डाकलांगलगायतका ठाउँमा सडक भासिँदा तथा पुल बगाएकाले सञ्चालन हुन नसकेको हो । 

साँफेबगर मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न पनि समय लाग्ने विभागले जनाएको छ । यस्तै कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन ।

 पहिरोका कारण अवरुद्ध यो सडकखण्ड  सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ । यस्तै बेशी शहर चामे सडकखण्ड पनि अवरुद्ध छ । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०