Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

धादिङका पत्रकारद्वारा मकवानपुरका पीडितलाई सहयोग

मकवानपुरको मनहरी गाउँपालिकाको हाँडिखोलाका पहिरो पीडित सुत्केरीलाई नेपाल पत्रकार महासंघ धादिङ शाखाले सहयोग गरेको छ । धादिङका पत्रकार तथा संचारगृहबाट संकलन गरिएको नगद तथा राहत सामग्री सहयोग गरेको हो ।

हाँडिखोलामा पहिरोबाट स्थानीय सुत्केरी तथा गर्भवती महिलाहरु सहितको चेपाङ समुदाय समस्यामा परेको खवर विभिन्न सञ्चारमाध्यमबाट बाहिर आएपछि नेपाल पत्रकार महासंघ धादिङले सहयोग उपलब्ध गराएको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले जिल्लाका पत्रकारहरु तथा सञ्चारगृहहरुबाट संकलन गरेको ५० हजार रुपैँया नगदका साथमा १३ थान हाइजेनिक किट, २१ थान त्रिपाल सहितको सामाग्री पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुलीले  मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण दुवाडी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरी हुमागाईको रोहवरमा हेटौडाका पत्रकार प्रताप विष्टलाई हस्तान्तरण गरे ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाले संकलन गरी उपलब्ध गराएको नगद सहितको राहात सामाग्री अबिलम्ब प्रभावित समुदायसम्म पु¥याउने पत्रकार विष्टले प्रतिबद्धता जनाए । उनले विपदमा परेका नागरिकलाई सहयोग गरेकोमा पत्रकार महासंघ धादिङ र जिल्लाका सञ्चारकर्मीहरुलाई समेत धन्यवाद दिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विकासराज खनाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

पीडित समुदायसम्म पुगेर राहात सामाग्री वितरण गर्न गएको भएपनि पानी परेका कारण सम्बन्धित ठाउँसम्म पुग्न असहज भएपछि अग्रज पत्रकार प्रताप विष्टलाई राहत सामाग्री जिम्मा लगाएर फर्कनुपरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीले बताए ।