Monday, 15th June, 2026
वि.स.

दिव्यतारा नाफा बाँड्नभन्दा रोजगार सृजना गर्न अग्रसर–डिना

दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पालुङ सम्पर्क कार्यालयको वार्षिक साधारणसभा थाहा नगरपालिकाको विकास घरमा भएको छ । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष तथा पुर्व जलस्रोत राज्य मन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यमा १७ मंसिरमा साधारण सभा भएको हो । 

साधारण सभामा दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था पालुङका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष भरत गोपालीले बार्षिक प्रतिबेदन प्रस्तुत गरे । सो क्रममा थाहाका पर्यटकीय क्षेत्रहरूमा संस्थाको तर्फबाट एटीएमको ब्यवस्था गरिदिन तथा रेडियो मकवानपुरको रिले स्टेशन सिमभञ्ज्याङमा स्थापना गर्न संस्थाकी अध्यक्ष उपाध्याय समक्ष अनुरोध गरे ।

कार्यक्रमकी प्रमुख अतिथी तथा संस्थाकि अध्यक्ष उपाध्यायले दुई सय रुपैयाबाट सुरु भएको संस्था अहिले दुई अरबको कारोबार गर्ने संस्था बनिसकेको बताउँदै यसको मुख्य कारण संस्था नाफामुखी नभएर सेवामुखी हुनु भएको बताइन् । संस्थाले जिल्लाभरीमा दस हजार भन्दा बढी सदस्य रहेको यस संस्थाले नाफा बाड्नुमा भन्दा रोजगार मुलुक क्षेत्रमा तथा सामाजिक क्षेत्रमा खर्चने गरेको समेत बताईन । थाहा नगरको विकास र समृद्धिका निम्ति यहाँ रहेका सहकारी तथा अन्य संघसंस्था सँग सहकार्य गर्दै जाने दिब्य ताराको उद्देश्य रहेको उपाध्यायको भनाइ थियो । आगामी बर्षबाट यहाँका किसानलाई सहज हुनेगरी कृषि मल बिक्रीवितरण गर्नका संस्थाले स्वीकृति लिई सकेको समेत बताईन । साथै अर्को शैक्षिकसत्र देखि नियमित एक छात्रा र एक छात्रलाई छात्रवृत्ति दिने र उक्त कार्यको तयारी गर्न सम्पर्क कार्यालयका संयोजक भरत गोपालीलाई अनुरोध समेत गरिन् । 

कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर तथा विशेष अतिथी खडग गोपाली नगरले सहकारी सँगको सहकार्यले मात्र छिटो नगरको विकास हुने कुरा बुझेको बताए । त्यसैले शितभण्डार निर्माणमा सहकारीहरु सँग सहकार्य भएको र त्यस्तै नीति र मोडलमा सिमभञ्ज्याङ भैंसे केवलकारमा निर्माणमा यो मोडल अपनाउने बताए । यसले थाहा नगरको कृषि र पर्यटनमा ठुलो सहयोग पुग्ने कुरा उपमेयर गोपालीको भनाइ थियो । सहकारी संघ प्रदेश–३ का सदस्य तथा कार्यक्रमका अतिथी बिमल कुमार ढकालले ऋृण लिने र निक्षेप उठाउने मात्र काम नगरी समग्र थाहा नगरको विकासको निम्ति पर्यटन र कृषि क्षेत्रको बिकासको लागि संस्थाले त्यस क्षेत्रमा लगानी गर्नुपर्ने बताए । 

नेकपा थाहा नगरपालिकाका अध्यक्ष अरुण रायमाझीले थाहानगरमा रहेको तीन दर्जनभन्दा बढी सहकारी संस्थाको नाजायज फाइदा उठाउदै एक संस्थाबाट ऋृण लिने र त्यसको ब्याज वा सावाँ तिर्न अर्को सहकारीबाट ऋृण लिनेहरु बढेकोले त्यसलाई निरुत्सािहत गर्न सहकारी अघि बढ्न सुझाए । उनले भने–‘कालान्तरमा यसले थुप्रै संस्था र स्वंय ऋृणीलाई अप्ठ्यारो आर्थिक संकट निम्त्याउन सक्छ, त्यस्ता गतिविधि माथि नियन्त्रण र निगरानी आवश्यक छ ।’ सभामा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, ईप्रका पालुङका प्रहरी निरीक्षक लोक बहादुर गुरुङ, थाहा नपा ३ का वडा अध्यक्ष राजेश केसीलगायतकाको आतिथ्यता रहेको थियो । 

वि.सं. २०५५ सालमा “केही त गरौं“ भन्ने समुहले जम्मा गरेको रकमको ब्यवस्थापन गर्दै जाँदा जन्मिएको संस्था दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था मकवानपुरको उत्कृष्ट मध्येको एक संस्था हो । यसै संस्थाको सातौ सम्पर्क कार्यालयको रुपमा २०७४ सालको अन्त्य तिर उत्तरी मकवानपुरको आर्थिक तथा ब्यापारीक केन्द्र थाहा नगरको शिखरकोटमा खोलीएको थियो । 

संचारकर्मी तथा थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले संचालन गरेको कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरु मध्येबाट उत्कृष्ट बाल बचतमा थाहा ३ शिखरकोटका रोपरङ्स रायमाझीलाई, उत्कृष्ट बचतमा थाहा ४ किटेनी कि सरिता गौतमलाई तथा उत्कृष्ट ऋृण कारोबारमा जेआर मोटर पार्ट्स थाहा ३ घर्तीखोलाका जयराम केसीलाई कदरपत्रका साथ दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०