Saturday, 20th June, 2026
वि.स.

दिउँसो अधिकतम तापक्रम बढ्दा पुसमै गर्मी !

weather-1610343063.jpg

दुई दिनदेखि काठमाण्डौ उपत्यकामा दिउँसो गर्मी अनुभव हुन थालेको छ ।

पुसमै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । दिउँसो अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको हो । शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो । 

हिजोको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बढेर २४ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ । अबको केही दिनसम्म काठमाण्डौको तापक्रम यही हाराहारीमा रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । 

अघिल्लो हप्ता देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढ्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । बदली भए पनि त्यतिबेला धेरै चिसो महशुस भएको थिएन । शुक्रबारदेखि मौसम सफा हुन थालेपछि दिउँसोको समयमा अधिकतम तापक्रम बढेको हो । 

अब बिस्तारै चिसो घट्दै जाने हुँदा तापक्रम बढ्नु सामान्य भएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यस वर्षको हिउँदमा हिउँ र पानी कम पर्नु तथा अहिले वायुको बहाव अरेबियन सागर हुँदै आएकाले न्यानो महशुस भएको मौसमविद् प्रधानाङ्गको भनाइ छ । 

यसैबीच आज राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लाहरुमा आज पनि बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०