Monday, 15th June, 2026
वि.स.

दशै लाग्यो: थाहानगरमा बजार अनुगमनको सट्टा सूचना प्रकाशन गरेरै टारियो

Upppppa-1570238298.jpg

चाडवाड आएपछि बजार अनुगमन हुन्छ भनेर व्यवशायीहरुले चाल पाइसके । मकवानपुर थाहा नगरपालिका क्षेत्रका व्यवशायीहरु अब नजिकिदै गरेको चाड दशै तिहार तथा छठका लागि बिक्रि गर्ने उपभोग्य वस्तुहरुमा मिति सकिएको छ कि भनेर छ्ट्याउन थालिसके ।

किनकी थाहा नगरपालिकाले अब अनुगमन गर्छ । व्यवसायीहरु यति चनाखो भैसक्दा पनि नगरपालिकाको अनुगमन संयन्त्र अझै बजार पुगेको     छैन । यो थाहा नगरपालिकाको मात्र समस्या हैन देशैभरका अनुगमन संयन्त्रको ताल यस्तै हुन्छ । बजार अनुगमनको बेला केही फेलै पार्दैन, किनभने अनुगमनकर्ता भन्दा व्यवशायी एक कदम अघि छन् । 

थाहा नगरस्तरीय अनुमगन समितिले पनि अब दशै लक्षित गरेर बजार अनुगमन त गर्ला तर व्यवसायीको कहँकतै गल्ती फेलै पार्दैन । गएका वर्षहरुमा पनि चाड नजिकिँदै गर्दा बजार अनुगमन नभएको होन तर प्रभावकारिता प्रायः शुन्य नै रह्यो । एक उपभोक्ता भन्छन्–‘अनुगमनकर्ताले अनुगमन गरेजस्तो, व्यवसायीले केही गल्ती नगरेजस्तो यो परिपाटी कहिले अन्त्य होला ?’

थाहानगरको शिखरकोट, थानाबजार,  ओखरबजार, दामन, आग्राको डाँडाबास, टिष्टुङको नौखण्डे, बज्रवाराहीको सरस्वती बजार, चित्लाङको विसिंखेल, माझगाउँ, टौखेल, पालुङको पालुङ शहर, फाँटबजार मुख्य बजार हुन् । उपभोग्य सामाग्रीका व्यवसायीहरुले चाडवाडको मौका छोपेर मिति सकिएको तथा कम गुणस्तरको सामाग्री विक्रि गर्ने गुनासो धेरै आउने गरेकोले पनि बजार अनुगमन आवश्यक भएको मनोपरामर्शकर्ता समेत रहेकी पलुङकी तुलसाा विष्ट बताउँछिन् । 

पछिल्लो समय गाउँका मानिसहरु केही सचेत त भएका छन् तर पनि मिति हेर्न, लेबल हेर्न सबैजना सक्षम छैनन्, सबैलाई आउदैन पनि,    त्यसकारण बजार अनुगमन अपरिहार्य  रहेको डाँडाघरे बाको होमस्टेका सञ्चालक माधव कार्कीको भनाइ छ । उनले भने–‘यदि अनुगमन भैहाल्यो भने पनि १ महिनासम्म मात्र व्यापारी र उपभोक्ताहरु सचेत हुन्छन्, पछि जस्ताको त्येस्तै हो, त्यसकारण पनि छड्के अनुगमन आवश्यक छ ।’

उपभोक्ताको हितमा काम गर्ने अधिकार पनि स्थानीय तहलाई छ । संविधानले दिएको अधिकारलाई प्रयोग गरेर धेरै स्थानीय तहहरुले बजार अनुगमन निर्देशिका आ–आफ्नो गाउँ÷नगरसभाबाट पास गरेका छन्, कार्यान्वयनमा ल्याएका छन् । निर्देशिका अनुसार स्थानीय तहलाई बजार अनुगमन र नियमनको अधिकार दिइएको छ । थाहा नगरपालिकाको कार्यविधि अनुसार उपभोक्ता हित संरक्षण समिति थाहानगरको अध्यक्ष उपमेयर खड्ग गोपाली हुने व्यवस्था छ । व्यवसायीहरुको छाता संघ थाहानगर उद्योग वाणिज्य संघले पनि थाहा नगरपालिकाले बजार अनुगमनको संयन्त्र बनाउन कार्यविधि नै पारित गरे पनि यो कार्यलाई प्राथमिकतामा राखेको छैन ।

ग्राहक तथा उपभोक्ताहरु सचेत छैनन् जसकाण पनि अनुगमन हुन एकदम जरुरी छ, विशेषगरी चाडपर्वको बेलामा मात्र अनुगमन हुने गरेको छ तर यो पर्याप्त छैन, नियमित रुपमा अनुगमन हुन जरुरी रहेको शिक्षक रामकाजी महर्जनले बताए । थाहामा प्राय जसो वर्षमा एकादुई पटक मात्र बजार अनुगमन हुने गरेको पाईन्छ । बजार अनुगमनका लागि  नगरले वार्षिक कार्यक्रम नै स्वीकृत गरेको    छ ।
 

ठगिए सिधै फोन गर्नू–उपप्रमुख गोपाली

बजारमा ठगिए सिधै फोन गर्न थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले अनुरोध गरेका छन् । 

थाहा नगरपालिकाले सूचना प्रकाशित गरी उपप्रमुख गोपालीले आम उपभोक्ताहरुलाई यस्तो अनुरोध गरेका हुन् । उनले कोही बजारमा ठगिए उपभोक्ता हित संरक्षण समितिको हटलाइन नम्बर ९८५५०८९३४४ र ९८५५०७५३४१ मा फोन गर्न भनेका छन् । 

चाडवाडको समयमा उपभोग्य सामाग्रीहरुको मूल्य वृद्धि, कम गुणस्तर तथा तौलमा समेत उपभोक्ताहरुमा कुनै गुनासो भएमा उपभोक्ता हित संरक्षण समिति, थाहा नगरपालिकामा फोन गरी जानकारी गराउन भनिएको छ । सूचनामा भनिएको छ– साथै, थोक तथा खुद्रा बिक्रेता व्यवसायीहरुलाई आ–आफ्नो व्यवशायिक प्रतिष्ठानबाट बिक्रि वितरण गरिने सामाग्रीको मूल्य सूची राख्नुहुन तथा गुणस्तरीय सामाग्री तथा उपभोग्य मिति हेरेर मात्र बिक्रि वितरण गर्नुहुन अनुरोध छ ।

सूचनाः