Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दशै अायाे !
घटस्थापनाको साइत विहान ९ बजेर ४१ मिनेटमा

BM-1505959663.jpg

दशैं आयो 
खाँउला पिँउला 
कहाँ वाट ल्याउला, चोरी ल्याँउला 
धत्त पापी म छुटै बसौंला 
...
भन्दै औंला भाच्दै बिताएको एक बर्षको बाल प्रतिक्षा आज समाप्त भएको छ । दशैं आएको छ, आज घटस्थापना अर्थात् नवराबीको प्रथम दिन्, यस बर्ष बि.सं २०७४ को वडा दशैंको हार्दीक शुभकामना । 

घटस्थापनाको साइत विहान ९ः४१

धेरैले बिहानको समयमा घटस्थापना गरे पनि साइत खोज्नेका लागि नेपाल पन्चांग निर्णायक समितिले बिहान ९ बजेर ४१ मिनेटको समय निर्धारण गरेको छ । ‘फुर्सद हुने र साइत खोज्नेले बिहान ९ बजेर ४१ मिनेटको समयमा जमरा राखेर घटस्थापना गर्नु राम्रो छ,’ समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

यसैबीच, स्थानीय स्तरको निर्वाचन समापन भएको नेपाली गाँउघरमा यस बर्षको दशैं मा कहिँकतै चुनाव अनि प्रजातन्त्र पनि जोडिएर आउनेछ । दुर्गाभवानीको कृपाले समृद्धि को शुरुवात अनि प्रजातन्त्र को संस्थागत गर्न नेपालल सदैव अघि रहोस् भन्ने सदिक्षाका साथ आजको आलेख को श्रीगणेश गर्दै छौं ।

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवार विना तर यस वर्षको दशैंको रौनकले तपाइलाई छुनेवाला छ, छुने मात्र हैन अाजदेखि अाधिकारीक रूपमा छोर्इ नै सक्यो । ल है! अाज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अकुंरण भएतापनि दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पनि लामा लामा अकुुंरित वालाहरू समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंगको जुटेको यो संस्कारले वनस्पतीसँग हामी एकदमै नजिक छाैं भन्ने स्पष्ट पार्छ । हिन्दूहरुको महान पर्व दशैंमा जमरा संस्कृती एउटा मौलिक धरोहरका रुपमा रहिआएको छ भने यस दशमीको दिन लाइने जमरा उमार्नकालागि अाजको दिन अर्थात् घटस्थापना महत्वपूर्ण दिन हो । 

नवरात्रीको शुरुवात आजबाट भयो, अब हरेक विहान देशका अनेक महत्वपूर्ण नव दूर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुन्छ । विहान विहान जमराको पुजापाठ गर्ने गर्नुपर्दछ अनि दशमीको दिन यहि जमरा र चामल, रातो अविर, दहि अथवा केरा मिश्रीत अक्षता टीकाले निधार भरिन्छ भने अाफ्ना मान्यजनहरूबाट प्राप्त आशिषले जीवनमा खुशीयालि प्राप्त गरिन्छ । जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुराचाँही परिवारको सङख्या अनुसार निर्धारण गरिन्छ, संयूक्त परिवारहरुले निकै ठुलो ठाँउमा जमरा छर्ने गर्दछन् भने थोरै परिवार सदस्य भएकाहरुले सानो ठाउँमा छर्ने गर्दछन् । यसरी छरिने जमरालार्इ माटोको चर्तुभूज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीको दिन भने आवश्यक्ता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यहि जमरा, टिका अनि सद्भावले दशैंको रौनक्ता बढाउँदछ । 

दशैंको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दशैंघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजाकक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनाैट गरिन्छ जसमा प्रकाश राम्ररी नआअोस् यसरी प्रकाश नपरेका जमराका वालाहरू पहेँला हुन्छन । घटस्थापनाबाट प्रारम्भ हुने दशैंको नवरात्र भनेको जमराको ९ दिने जीवन र दैनिक अकुंरणको प्रक्रिया पनि हो । जौको दाना भित्र रहेको जीवनशक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ । 

१६ अाैं शताब्दिका राजा महेन्द्र मल्लले निर्माण गरेको बसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा पनि गोर्खाबाट ल्याइएको फूलपातीहरु फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइने फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिअाएको छ । उहिले धेरै अघि अहिले जस्तो यातायातको सहज सुबिधा नभएको बेला भने गोर्खाबाट आबुखैरेनी सम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरु उभ्याउन लगार्इ एउटा कर्मचारीले एक किलोमिटर पार गरि अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दुरीमा भएकोलार्इ हस्तान्तरण गरेर रितपूर्वक फूलपातीलाई रिले दौडजस्तै गरि मानव साङ्गलो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो । आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाण्डौसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाण्डौको जमलसम्म गाडीमा ल्याएर त्यसपश्चात् तलेजु भवानीको मन्दिरमा अवस्थित दशैंघरसम्म पारम्परीक बाजागाजा सहित भित्राउने गरिन्छ । गोर्खाबाट ल्याइएको फूलपाती कुनैपनि अवस्थामा चाैबिस घण्टा नबित्दै काठमाण्डौ ल्याइपुर्याउनुपर्ने मान्यता समेत रहेको छ । 

लमजुङ्गको मोरियाकोटमा स्थानियवासीहरुले राइनासकोटको तल्लो भेगलाई (धमलिकुवा र गरमवेशीका केही स्थानिय भेगहरु) परिक्रमा गर्दै तल रहेको दूधपोखरी खोला र मर्स्याङ्गदीको दोभानमा गर्इ नुहाई-धुवाई गरि चोखो भर्इ कुबिण्डो तथा अन्य मौसमी फलफूलहरु लगायत फूलपाती बोकेर राइनासकोट स्थित राष्ट्रिय विभूति वीर सिपाही भक्तिथापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्नेगरिन्छ । स्मरणीय होस् उक्त मन्दिर कुनैपनि सीपाहीको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरु भएको लमजुङ्ग जिल्लाको पर्यटकिय स्थल हो जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दशैं लगायत शिवरात्रीमा पनि दर्शनार्थीहरुको विशेष भिड रहन्छ । यस बाहेक मेची देखि महाकालीसम्मका सम्पूर्ण शक्तिपिठहरु र कालीमाताको मन्दिरमा प्रातः कालदेखिनै मेला लाग्ने गर्दछ । 

सभ्यताको प्रक्रियालाई अनि इतिहासलाई हेर्दा मानवले जङ्गली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदिको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रूपमा हेरिन्छ । हाम्रा सनातन संस्कारहरु जौ, तुलसी, कुश र तिलबिना संकल्पित र पूर्ण हुन सक्दैनन् । नेवारी भाषामा भने जौ लाई तःछो भनिन्छ भने अंग्रेजीमा बार्ली भनिन्छ । जौको पौष्टिक्ता निर्विकल्प छ, टिभी रेडियोमा अाउने विज्ञापनहरूमा धेरै पाैष्टिक भनिएका आयातीत महँगा खानेकुराहरुमा पनि जौको मात्रा देखाएर नै प्रचार प्रसार हुने गर्दछ । यसमा ऐण्टिअक्सिडेन्ट र विटाक्यारोटीन लगायतका तत्वहरु पाइन्छ । 

यहि जौको अंकुरणलाई शिरमा राखेर टिका थाप्ने संस्कारले हरेक नेपालीहरुलाई सद्भाव, सदाचार, समृद्धी अनि दुर्गा भवानीको शक्ति प्राप्त होस् र जसरी छरिएको जमरा विस्तारै अंकुरण हुदै जान्छ त्यो प्रक्रियामा पहिले जरा माटोतर्फ बढ्न थाल्दछ अनि जरा पलाएपछि विस्तारै जमराका पातहरु माथि माथि बढ्न थाल्छ, त्यसैगरि शायद प्रकृतीले पनि हामीले हाम्रो जरा अर्थात संस्कार, परम्परा र मानवीय आधारहरुका बारेमा जानकारी दिएको पनि हुनसक्छ । बिरुवाहरु जतिसुकै ठूला, अग्ला र मोटा भएपनि, उनिहरुको हाँगाले आकाशै छुन खोजेतापनि जराभने माटोमै हुन्छ । अर्थात् हामीले जतिसुकै परिवर्तन या प्रगति गरेर अाकाशै छोए पनि हाम्रो बहुमूल्य संस्कार र परम्पराको जग भने विर्षन हुँदेन भन्ने महत्व दर्शाउँदछ । 

यो दशैंमा सबैको जय होस्, मङ्गल होस्, भातृत्व बढोस् अनि शान्ती छाओस्, हाम्रो शिरमा जमरा शोभायमान रहोस्, बडादशैंको मंगलमय शुभकामना ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०