nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरमा वडाको बजेट बढ्यो, वडाको बजेटले के गर्न पाइन्छ, के गर्न पाइँदैन (मार्गदर्शनसहित)
वडा भेला गरी वडा समितिको सिफारिसमा ५ असार भित्र नगरमा योजना पठाइसक्नुपर्ने

thahanagar-1623307042.jpg

थाहा नगरपालिकाको वडाहरुमा गत वर्ष भन्दा बजेट बढाइएको छ । नगर कार्यपालिकाको २६ जेठमा सम्पन्न बैठकले वडाहरुको लागि बजेट सिलिङ तथा मार्गदर्शन पारित गर्दै नगरको १२ वटै वडामा बजेट बढाएको हो ।

आगामी आर्थिक वर्ष २०७८÷८९ का लागि थाहा नगरका वडाहरु १, २, ३, ४, ६, ९ र १० मा रु. १ करोड ११ लाखका दरले बजेट तोकिएको छ । त्यसैगरी वडा नम्बर ५ का लागि रु. १ करोड २१ लाखको सिलिङ कायम गरिएको छ भने वडा नम्बर ७, ८, ११ र १२ का लागि प्रत्येक वडामा रु. १ करोड ३१ लाख पठाउने निर्णय गरिएको छ । 

नगरको साविक आग्रा र टिस्टुङ विकासका दृष्टिले पछि परेको भन्दै नगरको शुरुका वर्षहरुबाटै अन्य वडाहरुको तुलनामा बढी रकम छुट्याउने गरिएको छ । गत वर्ष ती वडाहरुमा रु. १ करोड १५ लाखका दरले बजेट विनियोजन गरिएको थियो । वडा नम्बर ५ पनि केही दुर्गम भएकोले १, २, ३, ४, ६, ९ र १० वडाहरुभन्दा बढी रकम दिइएको थाहा नगर नेकपा एमाले संसदीय दलका नेता शशिधर सुवेदीले जानकारी दिए । 

औसतमा गत वर्षभन्दा प्रत्येक वडामा रु. १५ लाख बढी बजेट छुट्याइएको नेता सुवेदीको भनाइ छ । नगरपालिकाको श्रोत पहिचान गरेर नगरको बजेट निर्माण अघि नै वडाहरुलाई सिलिङ तोकिएको नगरपालिकाले जनाएको छ । 

प्रत्येक वडालाई चालु खर्चतर्फ रु. ४ लाख र पूँजीगत खर्च(मर्मत सम्भार) रु. ७ लाख समेत गरी उल्लेखित बजेट वडाका लागि विनियोजन गरिएको हो । 

नगर कार्यपालिकाले वडाहरुको बजेट निर्धारण गरेपछि २६ जेठमा वडा कार्यालयहरुलाई पत्राचार गरी जानकारी गराइसकेको नगर प्रमुख लवशेर विष्टले बताए  । वडा भेला गरी वडा समितिको सिफारिससाथ आगामी ५ असारभित्र नगर कार्यपालिकामा योजना पठाउन नगरपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गरेको छ । 

नगरबाट विनियोजित बजेटले वडामा के गर्ने, के नगर्ने ? 
थाहा नगरका १२ वटा वडाहरुमध्ये बजेट वर्गीकरणको आधारमा नगर कार्यपालिकाले वडाहरुलाई योजना छनोट गर्न निर्देशन दिएको छ । सोबमोजिम वडा नम्बर ५, ७, ८, ११ र १२ मा कम्तिमा एउटा योजना रु. २० लाख र अन्य वडामा कम्तिमा २५ लाखको हुनुपर्नेछ । त्यसैगरी वडा नम्बर ५, ७, ८, ११ र १२ मा कम्तिमा एउटा योजना रु. ५ लाख र अन्य वडामा कम्तिमा रु. ७ लाखको हुनुपर्ने पनि मार्गदर्शनमा उल्लेख गरिएको छ । निजी श्रोत शिक्षकको तलबभत्ताको लागि आवश्यक बजेट नगरले नै विनियोजन गर्ने हुँदा वडाको बजेटले सो  सम्बोधन गर्न नपर्ने नगरपालिकाले जनाएको छ । 

संघीय सरकार वा प्रदेश सरकारबाट समपुरक अनुदान वा विशेष अनुदानमा सडकतर्फ बजेट परेको रहेछ भने ठूला योजनाअन्तर्गत रु ४० लाख सोही योजनाको लागि ‘म्याचिङ फण्ड’को रुपमा छुट्याउनु पर्ने मार्गनिर्देशनमा भनिएको छ । वडास्तरीय कार्यक्रमका लागि नगरले पठाउने रु. १० लाखबाट ७० प्रतिशत योजनामै खर्च गर्नुपर्ने र बाँकी ३० प्रतिशत रकममात्र भैपरी कार्यमा खर्च गर्ने गरी ३० प्रतिशत रकम चालु खर्चमा समावेश गरिएको नगर कार्यपालिकाले स्पष्ट पारेको छ । 

थाहा नगर कार्यपालिकाले वडामा योजना छनोट गर्दा वडा बजेटबाट नयाँ सडक ट्रयाक खोल्ने योजनामा बजेट विनियोजन गर्न नपाइने जनाएको छ । कृषि, शिक्षा, स्वास्थ्य पर्यटनजस्ता वडाले प्राथमिकता तोकेको योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गर्न सकिने मार्गदर्शनमा उल्लेख छ । त्यसैगरी कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य सामग्री, ल्याब तथा स्वास्थ्य संस्था सञ्चालनमा वडाले बजेट विनियोजन गर्न सकिने पनि जनाइएको छ । 

हेर्नुहोस् मार्गदर्शन :



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)