nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरमा ब्याडमै फुल्यो काउली, कृषक चिन्तित

बेमौसमी तरकारी उत्पादनमा प्रशिद्ध मकवानपुरको थाहा नगरपालिकामा किसानहरुले व्यवसायिक खेतीका लागि काउलीको ब्याड राखेकोमा ब्याडमै फुलेको छ । ब्याडमा नफुलेका काउली रोपिएको केही दिनमै फुलेका छन् । यसले कृषकहरुमा चिन्ता थपिएको छ । 

थाहा नगरपालिका वडा नम्बर ३ की मिना पाख्रिनले अन्दाजी २ रोपनी जग्गा भाडामा लिएर काउली खेती गरेकी थिइन् । रोपेको दुई सातामै काउली फुल्यो । तर निकै सानो फुलेर विक्रीका लागि योग्य नभएपछि उनले काउली फालेर उक्त जग्गामा मकै रोपेकी छिन् ।

पाख्रिनजस्तै थाहा नगरपालिका– १का सुदिप थोकर र वडा नम्बर २ का श्रीकृष्ण श्रेष्ठको पनि उस्तै हालत भयो । एक महिनाअघि असिनाले आलु खेती सखाप पारेर आक्रान्त बनेका कृषकहरु व्याडबाट रोप्न तयार भएको काउली ब्याडमै फुलेपछि ‘थाल खाउँ कि भात’ भनेझैँ भएका छन् । 

यसरी फुलेको काउलीको वजन १०० ग्रामसम्म पनि नभएको पीडित कृषक  श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । अघिल्ला बर्षहरुमा राम्रोसँग फुल्दा एउटै बोटबाट दुई किलोग्रामसम्म फुल्ने गरेको उनको भनाइ रहेको छ । 

थाहा नगरपालिकामा जापानीज कम्पनीको ह्वाइट टप र सुपर ह्वाइट टप जातको काउली व्याडमै फुलेका हुन् । यी जातका काउलीलाई पानी धेरै चाहिने भएकोले अहिले सुख्खा समयमा रोपिएकोले समय नपुग्दै फुलेको थाहा नगरपालिका कृषि शाखाका प्रमुख सञ्जय तिवारी बताउँछन् । उनका अनुसार समय नपुग्दै काउली फुल्नुमा तीन कारण हुनसक्छन्–पहिलो खडेरी, दोस्रो छिप्पिएको बेर्ना र तेस्रो नाइट्रोजनको कमी । 

नगर कृषि शाखा प्रमुख तिवारीले पहिलो चरणमा लगाइएका काउली समय नपुग्दै फुलेको कृषकहरुबाट गुनासो आएको बताए । ‘करिब एक महिनाअघि रोपेको काउली फुलेको गुनासो आएको छ, पछिल्लो समय रोपिएको काउलीमा समस्या देखिएको छैन, यसको कारण ‘सिजन’ नमिलेर नै हो ,’ उनले भने । 

ह्वाइट टप र सुपर ह्वाइट टप जातका काउली वर्षा याममा लगाउन उपयुक्त हुने कृषि प्रमुख तिवारीले बताए  । बीउको गुणस्तरीयतामै समस्याका कारण ब्याडमै वा समय नपुग्दै काउली फुलेको हुन सक्ने आँकलन भइरहेको बेला उनले बीउमा भने समस्या नदेखिएको बताए । 

समस्या बाली बीमाको
९० प्रतिशतभन्दा बढी घरपरिवार कृषि पेसामा संलग्न रहेको थाहा नगरपालिकामा कृषि बाली बीमा भने पाँच प्रतिशतले पनि गरेका छैनन् । बैंकहरुबाट कृषिका लागि कर्जा लिँदा अनिवार्यरुपमा बाली बीमा गरिएकोबाहेक यहाँका केही कृषकहरुले कृषि बाली बीमा गरेका छन् । नगरमा कति कृषकहरुले बाली बीमा गरे भन्ने थाहा नगरपालिकाको कृषि शाखालाई जानकारी नभएको शाखा प्रमुख तिवारीको भनाइ छ । 


बाली बीमा नहुँदा यहाँका कृषकहरुले बालीको क्षति हुँदा क्षतिपूर्ति पाउन सकेका छैनन् । मकवानपुर जिल्लामा कृषि बाली बीमाको लागि शिखर इन्स्योरेन्स कम्पनीले सरकारबाट अनुमति पाएको छ । स्थानीय कृषकहरुमा बाली बीमाप्रति प्रचारप्रसार गरी बीमा गराउन केही बर्षदेखि बर्षेनी अभिकर्ता तालिमसमेत दिने गरिएको छ ।

कृषि र पशु विज्ञान अध्ययन गरेका युवाहरुलाई तालिम दिइँदा प्रभावकारी हुने ठानेर उनीहरुलाई तालिममा सहभागी गराइएको भए पनि बिमा गराउने कार्यले तीव्रता पाउन नसकेको थाहा नगर कृषि शाखाले जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)