Monday, 15th June, 2026
वि.स.

थाहा नगरपालिकाको दुई ठाउँमा हेल्थ डेस्क, नगर प्रबेश गर्नेको अभिलेख राख्न थालियो

Meeting-1585062297.jpg

मकवानपुरको थाहा नगरपालिकाले आफ्नो नगरमा फागुन १५ यता विदेशबाट फर्केका नागरिकहरुको विवरण राख्न शुरु गरेको छ । सरकारले राष्ट्रव्यापी रुपमा लकडाउन गरेसँगै थाहा नगरपालिकाले नगरमा विदेशबाट फर्किएका नागरिकहरुको विवरण राख्न शुरु गरेको हो ।  वडाका जनप्रतिनिधिहरुमार्फत् यस्तो विवरण राख्न शुरु गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । ‘विदेशबाट फर्किएको थाहा पाएमा सम्पूर्ण विवरणहरु लिन्छौं र फलोअप गर्छौं; विष्टले भने । 

११ चैतमा नगरपालिकामा बसेको जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीको संयुक्त बैठकले बाहिरबाट फर्किएकाहरुको विवरण राख्ने निर्णय गरेको हो । बैठकले नगरपालिकाका कोरोना रोकथाम, नियन्त्रण तथा समन्वय समितिको सचिबालयसमेत गठन गरेको छ । सचिबालयमा नगरका कर्मचारी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी रहेका छन् । 

बैठकमा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विकास कुमार तामाङ, पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुबोध चापागाईंले कोरोना रोकथाम र नियन्त्रणका लागि आआफ्नो क्षेत्रको तयारीबारे जानकारी दिएका थिए । 

काठमाण्डौंसँग सीमाना जोडिएको र सवारी साधन ठप्प हुँदा पनि नागरिकहरु थानकोट–चन्द्रागिरीको बाटोबाट पैदल आउनसक्ने भन्दै नाकामा कडाइ गर्ने प्रहरीले बताएको छ । त्यस्तै, चित्लाङको पाैवा र अाग्राकाे भाेर्लेमा हेल्थ डेस्क शुरु गरी सोधपुछ, सचेतना र सामान्य चेकजाँचको व्यवस्था मिलाइएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । नगरमा आवश्यक औषधिको व्यवस्था रहेको र स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको उनले बताए । कोरोनाको संकास्पद विरामीको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा छुट्टै ओपिडी कक्षको व्यवस्था गर्नुका साथै आइसोलेसन कक्षको समेत व्यवस्था गरिएको केन्द्रका डा. चापागाईंले जानकारी दिए । 

यसैबीच दामन एफएमसँग समन्वय गरी थाहा नगरपालिकाले कोरोनासम्बन्धी सचेतनामुलक अडियो सामग्री उत्पादन गरेर ११ चैतबाट गाउँगाउँमा माइकिङ शुरु गरेको छ । प्रहरीले पनि लकडाउनबारे माइकिङ शुरु गरेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०