Monday, 1st July, 2024
वि.स.

थाहामा एसईई नतीजा : कुन स्कुल कहाँ परे ?

SEE_results_techpana_news-1719512602.jpg

१३ असारमा २०८० को एसईईको नतीजा आयो । यसमा ४८ प्रतिशत पास भए । ५२ प्रतिशत फेल । फेल हुनेहरुले यसमै चित्त बुझाउनुपर्नेछ, किनकि फेल हुने कोही एक मात्र छैनन् । थाहा नगरपालिकाले त फेल हुनेमा राष्ट्रिय रेकर्ड तोडेको छ । यहाँ ७२ प्रतिशत फेल भएका छन् । अर्थात् प्रत्येक १०० जनामा ७२ जना फेल । २७.५१ प्रतिशत मात्र पास भएका छन् । 

समग्रमा बोर्डिङ अघि 
बोर्डिङको अर्थ आवासीय हुन्छ । यहाँ निजी स्कुललाई बोर्डिङ भन्छन् । एसईईको यो नतीजामा निजी स्कुल पास प्रतिशतका हिसाबले पहिलो भएको छ । त्यसो त कतिपय आधा निजी स्कुल सरकारी भन्दा कमसल देखिएको छ ।

थाहानगरका निजी र सरकारी स्कुल सबैको पास प्रतिशत हेर्दा पालुङ इंगलिस आवासीय स्कुल पहिलो भएको छ । यो स्कुल २ नं. वडामा रहेको छ । यहाँ ११मा  ९ जना पास भएका छन् । प्रतिशतमा यो भनेको ८२ प्रतिशत हो । राष्ट्रिय रिजल्टभन्दा यो धेरै माथि हो । थाहानगरमा समग्रमा दोस्रो र तेस्रो पनि निजी स्कुल नै भएको छ । दोस्रो बज्रवाराहीको सरस्वति विद्या मन्दिर भएको छ ।  यहाँ २४ जनामा १७ जना पास भएका छन् । प्रतिशतका हिसावले यो ७१ प्रतिशत हो । त्यसैगरी तेस्रोमा बज्रवाराहीकै इअन इंगलिस बोर्डिङ स्कुल छ । इअनले ५३ प्रतिशत नतीजा ल्याएको छ । बाँकी सबै विद्यालयको नतीजा राष्ट्रिय नतीजा भन्दा तल छ । 

तर, निजी पनि कमजोर                                              थाहानगरमा समग्रमा निजीको नतीजा राम्रो देखिए पनि समान खालको छैन । निजी स्कुलमा पढाउन अभिभावकले ठूलो खर्च गरेका हुन्छन् । तर, खर्च अनुसार समान स्तरको नतीजा देखिँदैन । जस्तोकि पालुङ इंगलिस आवासीय स्कुलको ८२ प्रतिशत नतीजा आउँदा पालुङ भ्याली हार्ट एकेडेमीको १९ प्रतिशत मात्र छ । थाहानगरका ६ वटा निजी स्कुलमा बाँकी ३ वटा स्कुलले राष्ट्रिय नतीजालाई भेट्न सकेनन् । ओखरबजारको पालुङ मोडर्न इंगलिस स्कुलको ४० प्रतिशत र हिमालयन इंगलिस स्कुलको ३३ प्रतिशत नतीजा छ । निजी स्कुल भए पनि यी विद्यालयलाई सरकारी स्कुलले टपेको छ । 

सरकारीमा नाट्यश्वर पहिलो
सरकारी स्कुललाई मात्र केलाउँदा १० नं. टौखेलको नाट्यश्वर मावि पहिलो भएको छ । यो विद्यालयबाट ३३ जनाले जाँच दिएका थिए, १५ जना पास भए । यो भनेको ४५ प्रतिशत हो । राष्ट्रिय नतीजाको हाराहारी नतीजा आएको छ । राष्ट्रिय नतीजामा निजीको समेत हिसाब हुने हुँदा सरकारीमा तुलनात्मक रुपमा यो नतीजा निकै राम्रो हो । सरकारीतर्फ ३८ प्रतिशत पास गराएर सुनौला मावि दोस्रो र ३४ प्रतिशत विद्यार्थी पास गराएर टिस्टुङको बागेश्वरी स्कुल तेस्रो भएको छ ।

नमुना विद्यालय नाम मात्र
यसपालीको एसईई रिजल्टमा उत्तरी मकवानपुरकै जेठो मावि जनकल्याण निकै तल परेको छ । यो विद्यालयलाई सरकारले नमुना विद्यालय भनेको छ । तर एसईईको रिजल्टमा नमुना बन्न सकेको देखिएन । यस स्कुलबाट जम्मा ८३ जनाले जाँच दिएका थिए । जसमा प्राविधिक(कृषि) पढ्नेहरुसमेत थिए । ८३ जनामध्ये ९ जना मात्र पास भए । यो भनेको ११ प्रतिशत हो । जनकल्याण थाहा नगरको एसईई दिने १७ वटा स्कुलहरुमध्ये १५ नम्बरमा परेको छ । १७ औं अर्थात् सबैभन्दा कम नतीजा ल्याउनेमा मत्स्य नारायण मावि रहेको छ । उसको नतीजा ८ प्रतिशत रहेको छ ।

भूगोलको नतीजा 
थाहानगर शुरुमा साविक दामन, पालुङ र बज्रवाराही मिलेर बनेको थियो । यो भूगोलबाट हेर्दा ओखरबजारको झम्केश्वरी मावि अगाडि देखिएको छ । समग्रमा यो स्कुल सरकारीतर्फ नगरको चौंथो बनेको छ ।

चित्लाङ भेगमा स्वच्छन्द भैरब माविले १३ प्रतिशत मात्र नतीजा ल्याएको छ । एउटै भेगको नाट्यश्वरले ४५ प्रतिशत पास गराउँदा स्वच्छन्द भैरबबाट १३ प्रतिशतमात्र उत्तीर्ण हुनु सोचनीय विषय बनेको छ ।

आग्रामा रहेका ३ माविमध्ये सरस्वति मावि पहिलो बनेको छ । सरस्वतिले २८ जनामा ६ जना पास गराउन सकेको छ । यो २१ प्रतिशत हो । आग्राको इन्द्रायणी माविबाट १९ प्रतिशत  पास भएका छन् । डाँडाबासको सुन्दरीदेवी माविबाट ३० जनामा ३ जना पास भएका छन् । यहाँ पनि प्राविधिक विषय(सिभिल इ.)का विद्यार्थीहरुसमेत थिए । १० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने सुन्दरीदेवी समग्रमा नगरको १६औं स्थानमा रहेको छ । 

पासमध्ये पहिलो विद्यार्थी को ?                                  यो रिपोर्टमा थाहा नगरपालिकाको शिक्षा शाखाले दिएको विवरण अनुसार पास प्रतिशतको आधारमा संक्षिप्त विश्लेषण गरिएको छ । पास प्रतिशत कम भए पनि जिपिएको आधारमा कुनै स्कुल अगाडि हुनसक्ने कुरालाई नकार्न सकिन्न । यो समाचार तयार पार्दासम्म सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी र विद्यालयबारे जानकारी प्राप्त हुन सकेको छैन ।  

विष्ट पुरस्कृत हुँदै
यसैबीच झम्केश्वरी माविका शिक्षक प्रविण विष्ट पुरस्कृत हुने भएका छन् । उनी यहाँ सामाजिक अध्ययन विषय पढाउँछन् । उनले पढाउने विषयमा शत्प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि विद्यालयले उनलाई पुरस्कार दिन लागेको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)