Tuesday, 20th October, 2020
वि.स.

थाहानगरमा सुपथ मूल्य पसल छैनन्

आर्थिक रुपमा विपन्न वर्ग, पिछडिएका आदिवासी, जनजाति, महिला, सुकुम्बासीलाई लक्षित गर्दै एक दशकअघि खोलिएका सहकारी सुपथ मूल्य पसलको अहिले नामोनिसाना भेटिँदैन । सरकारी लगानीमा विपन्न वर्गलाई लक्षित गर्दै खोलिएका मकवानपुर थाहानगरका अधिकांस सहकारी पसल बन्द भएका छन् । दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउने यस्ता सुपथ मूल्यका सहकारी पसल बन्द हुँदा आर्थिकरुपमा विपन्न परिवार मारमा परेका छन् । 

वि.सं. २०६५ सालमा तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईका पालामा सरकारी लगानीमा सुपथ मूल्य    सहकारी पसल सञ्चालनमा ल्याइएको थियो । सुपथ मूल्यका सहकारी पसल सञ्चालन नियमावली २०६५ राजपत्रमा प्रकाशन गर्दै सरकारले २०६५ फागुनदेखि देशभर पहिलो चरणमा प्रतिपसल एक लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।

एक दशकअघि खोलेका ती पसलको अहिले थाहानगरमा नामोनिसाना भेटिँदैन । बरु पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले अहिले थाहानगरमा सुपथ मूल्य भनेर पसल संचालन गरिरहेको छ । त्यस्ता सुपथ मूल्यका सहकारी पसल साविकका प्रत्येक नगरपालिका तथा गाविसमा एक पसल रहने गरी खुलेका थिए । थाहानगरको साविक दामनमा श्री सहकारी संस्था लि.ले शिखरकोटमा पसल संचालन गरेको थियो । उक्त सहकारीले संचालन गरेको सुपथ मुल्य पसल पनि चार वर्ष अघि बन्द भैसकेको छ । पहिले पहिले साल्ट टूेडिङबाट खाद्यन्न लगायतको उपभोग्य सामाग्री सुपथमा आउने र सुपथ मूल्यमै उपभोक्तालाई दिन सकिनेमा पछि आउन छोडेकोले पसल बन्द भएको हो । ‘सामान्य व्यवशायीले सामान ल्याउने ठाउँबाटै ल्याउँदा सुपथमा बिक्री गर्न नसकेकोले पसल नोक्सानी तर्फ उन्मुख हुँदै अन्ततः बन्द भयो’–सुपथ मूल्य पसलका तत्कालिन व्यवस्थापक शनिस गोपालीले भने ।   बजारमा प्रतिस्पर्धा गर्न नसकेका कारण सुपथ मूल्यका सहकारी पसल टिक्न नसकेको गोपालीको अनुभव छ । 

‘पसल खुल्नसाथ सुपथ मूल्यका सहकारी पसलमा दाल, चामल, चिनीलगायतका दैनिक उपभोग्य वस्तु समेत उपलब्ध गराइएको थियो, ती सबै समान सुपथ मूल्यमा पाइने हुँदा पसलमा सेवाग्राहीको चाप पनि उत्तिकै हुन्थ्यो’, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सदस्य गणेशमान श्रेष्ठले भने,–गरिव तथा विपन्नलाई धेरै राहत मिलेको थियो अहिले त्यस्ता पसल बन्द हुँदा सबैभन्दा बढी मारमा तीनै विपन्न परेका छन् ।’ सुपथ मूल्य पसल संचालन आवश्यक भएको र यसलाई स्थानीय तहले प्रवद्र्धन गर्नुपर्ने थाहानगर संयोजक समेत रहेका श्रेष्ठले बताए । सुपथ मूल्य पसल संचालन गर्ने सहकारीले तत्कालिन डिभिजन सहकारी कार्यालयबाट १÷१ लाख रुपियाँ अनुदान लिएको बताउँदै त्यस्ता किसीमको सहकारीहरुलाई थप सेवा विस्तार संगै संचालन गर्दा     प्रभावकारी हुने थाहानगर सहकारी संजालका अध्यक्ष महेश्वर सुवेदीले बताए ।

विगतमा अनुगमन समितिमा स्थानीय विकास अधिकारी तथा सदस्यमा प्रमुख जिल्ला अधिकारी, सहकारी संस्था लिमिटेड, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघलगायत रहने गरेका थिए । ती अनुगमन समितिले समेत नियमित काम नगरेकाले सहकारी पसलको अनुदान लिएर हराएको स्थानीय नागरिक बताउँछन् ।

थाहा नगसहित अन्य स्थानीय तहहरुमा समेत त्तकालिन अवस्थामा संचालन भएका सहकारी सुपथ मूल्य पसलको न अभिलेख छ न अनुगमन नै । स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार सम्बन्धीत पालिका मात्र कार्य क्षेत्र भएका सहकारीहरुको दर्ता, अनुगमन तथा नियमनको गर्ने अधिकार रहेको छ । सहकारी क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न नसकेकोे सम्बद्ध व्यक्तिहरु बताउँछन् । 

उपभोक्ताको हितका लागि बजार अनुगमन गरिने

थाहानगर क्षेत्रका उपभोक्ता हितलाई मध्येनजर गरेर बजार अनुगमन गरिने भएको छ । 

चाडवाडको समयमा बढि मूल्यमा तथा गणुस्तरहिन सामान उपभोक्ताहरुलाई विक्रि वितरण नहोस भन्ने उद्देश्यले अनुगमन गर्ने योजना रहेको थाहा नगरपालिकाले जनाएको छ । थाहा नगरपालिका हित संरक्षण मञ्च तथा बजार अनुगमन समिति मार्फत बजार अनुगमन हुने गरेको छ । थाहानगरले चाडवाड तथा अन्य समयमा समेत बजार अनुगमन गर्ने गरेको छ । 

यसैबीच नगर उपप्रमुख तथा थाहानगर उपभोक्ता हित संरक्षण मञ्चमा संयोजक खड्ग गोपालीले चाडवाडको समयमा उपभोक्ताहरुलाई पनि सचेत भएर किनमेल गर्न  आग्रह गरेका छन् ।  खरिद गर्ने सामाग्रीको म्याद हेर्ने, मूल्य तुलना गर्ने लगायतको कार्य गर्न उनले अनुरोध गरेका छन् ।