nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा सम्झनामा सीमित रोटेपिङ र जाँते पिङ, लिङ्गेपिङ पनि हराउँदै

thaha-Ghartikhola-Rote-Pi-1634117133.jpg

पिङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । पिङलाई नेपाली बृहत् शब्दकोशमा– रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर लेखिएको छ । नेपालका गाउघरमा हवाइजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भए पनि दशैंमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ । शब्दकोषमा पिङको अर्थ लिङ्गेपिङसँग जोडेर राखिएको भए पनि हाम्रो गाउँघरमा धेरै पहिलेदेखि परम्परागतरुपमा राटेपिङ र जाँतपिङ पनि प्रचलनमा थियो । थाहा नगरपालिकामा रोटेपिङ र जाँतेपिङ अनुभवीहरुका लागि सम्झनामा मात्र सीमित भएको छ भने नयाँ पिँढीका लागि किंवदन्तीजस्तै बनेको छ । 

यसवर्ष बडा दशैँ मनाउँदै गर्दा पिङको रौनकता के छ भनी थाहा टाइम्सले थाहा नगरका केही स्थानहरुमा स्थलगत अवलोकन गरेको थियो । सो क्रममा यसअघि पिङ हालिने गरेको कतिपय स्थानमा यसवर्ष पिङ देखिएन । पहिले पिङ हाल्ने गरेको कतिपय स्थान त अहिले मासिसकेका रहेछन् । सीमित मात्रामा हालिएको पिङमा पनि रौनकता थिएन । केही स्थानमा पिङका लागि बाँसको लिङ्गा ल्याएर राखिए पनि पिङ भने बनाइएको थिएन । 

थाहा टाइम्सले गरेको स्थलगत अवलोकन र ज्येष्ठ नागरिकहरुसँगको छलफलबाट अहिले थाहानगरबाट जाँते पिङ र रोटे पिङ लोप नै भएको पाइएको छ । थाहा नगरपालिका वडा नम्बर ३ का देवराज उप्रेतीका अनुसार ९ वर्षअघिको दशैँमा बागेखोलामा तीनै थरी पिङ हालिएको थियो । सो वर्ष स्थानीय सामुदायिक वन, समुदाय र युवाहरुको सक्रियतामा जाँते पिङ, रोटे पिङ र लिङ्गे पिङ हालिएको भए पनि  त्यसयता जाँते र रोटे पिङ हालिएको छैन । ‘सम्भवतः सो पिङ नै थाहानगरको अन्तिम रोटे पिङ हुनसक्छ’ उप्रेती भन्छन् । 

थाहा नगरपालिकाको ३ नम्बर डाँडागाउँमा विगतमा हरेक वर्ष जाँतेपिङ हाल्ने गरिए पनि पछिल्ला वर्षहरुमा हाल्न छाडिएको स्थानीय केदार विष्ट बताउँछन् । ‘हालको ३ नम्बर वडाको पारी डाँडागाउँमा रोटेपिङ र वारी मर्किनडाँडामा लिङ्गेपिङ हुँदा दशैँको रौनकता नै गज्जब हुन्थ्यो, अहिले त दुबै ठाउँमा पिङ देखिँदैन,’ स्थानीयहरु बताउँछन् । एकैपटक धेरै जना बसेर खेल्न मिल्ने भएकोले रोटेपिङ भएको स्थानमा पहिलेपहिले  मेला नै लाग्ने गर्दथ्यो । लिङ्गे पिङमा चचहुई चचहुई गर्दै लिङ्गाको टुप्पो छुने होडबाजी पर्दथ्यो भने त्यसमा ‘जुहारी’ खेल्ने प्रचलनले अझै रौनकता थप्ने गर्दथ्यो । 

थाहानगरमा मात्र होइन, कैलाश गाउँपालिकामा पनि पिङ हराउँदै गएको छ । ‘कैलाशको पकनी, डाँडाखर्क लगायतका क्षेत्रमा दशैँमा पिङ जात्रा नै लाग्ने गरेको थियो, अहिले पिङ देख्नै मुश्किल छ ’ कैलाशका रत्नबहादुर गोले भन्छन् । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

thaha-Ghartikhola-Rote-Pi-1634117142.jpg