Tuesday, 16th June, 2026
वि.स.

थाहानगरको विसिङ्खेलमा भएको आगलागीमा ३ जना घाइते ५० लाखको क्षति

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० तल्लो विसिङ्खेलको एउटा घरमा १७ जेठमा भएको आगोलागीमा तीनजना गम्भीर घाइते भएका छन् । 

विसिङ्खेलमा रहेको हिमकर्ण र मोतिराम गमाल तथा हिमकर्णको बुहारी छुट्टीभिन्न भई बसेको तीन तले घरमा आगोलागी भएको हो । घरमा आगोलागी भएपछि हिमकर्णको बुहारी किरणदेवी ८ महिना र नौ वर्षको छोरासहित चुलीको झ्यालबाट हामफाल्दा छोराहरुसहित गम्भीर घाइते भएकी छिन् । उनीहरुको मनमोहन मेमोरियल अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ ।

त्यस्तै अरु घरभित्र रहेकाहरुले पनि झ्यालबाट हामफालेर ज्यान जोगाएका छन् । उनीहरु सामान्य घाइते भएका छन् । दोस्रो र तेस्रो तल्लामा भान्छा रहेको उक्त घरमा भुईतलाबाट आगो लागेको स्थानीयहरुले बताएका छन् । आगो के कारणले लाग्यो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

अगोलागीमा परी ५० लाख बराबरको क्षति भएको छ । विसिङ्खेलमा रहेको हिमकर्ण र मोतिराम गमालको संयुक्त परिवार बस्ने घर जलेर कामै नलाग्ने भएको स्थानी अन्जन लामिछानेले जानकारी दिए । आगोलागीमा परी ६ तोला सुन, १० लाख रुपियाँ नगद, ८ वटा बाख्रा जलेको पीडित परिवारले जानकारी दिए । साथै आगोमा परी जग्गाधनी पुर्जा, शैक्षिक योग्यताको प्रमाणपत्रहरु, नागरिकताहरु, लत्ताकपडा, खाद्यन्न तथा भाँडाकुँडा केही पनि झिक्न नभ्याइएकोले सबै जलेको स्थानीयहरुले बताएका छन् । 

बेलुकी पौने ८ बजे घरमा सल्केको आगो स्थानीयहरु, नेपाल आर्मी र नगरपालिकाको दमकलको सहयोगमा राती १२ बजे पूर्ण रुपमा निभाइएको थियो । यद्यपि स्थानीयहरुले थाहा नगरपालिकाको दमकल सेवा प्रभावकारी नभएको गुनासो गरेका थिए । 
 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०