Saturday, 20th June, 2026
वि.स.

थाहानगरको टिष्टुङसहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था शिलान्यास हुँदै

DLPUi-1612227954.jpg

मकवानपुरसहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था २० माघमा एकै दिन शिलान्यास हुने भएका छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी मंगलबार मकवानपुरसहित ३ जिल्लामा १२ वटा स्वास्थ्य संस्था शिलान्यास हुने भएका हुन् ।

पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख तुलसीराम खर्बुजाले मकवानपुरका ४, नवलपुरका ४ र परासी जिल्लाका ४ गरी १२ वटा स्वास्थ्य संस्थाको शिलान्यास हुन लागेको जानकारी दिए । भुकम्पबाट क्षति पुगेका मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिका वडा नम्बर ८ को खैराङ स्वास्थ्य केन्द्र, बकैया गाउँपालिका वडा नम्बर २ को धियाल स्वास्थ्य चौकी र भीमफेदी गाउँपालिका वडा नम्बर ३ को निबुवाटार स्वास्थ्य चौकीको शिलान्यास २० माघमै हुँदैछ ।

टिष्टुङ र खैराङ गरी ७ करोड ४१ लाख ९७ हजार ११ रुपैंया, धियाल र निबुवाटारमा ३ करोड ७ लाख ८५ हजार ८ सय १० रुपैंयाको लागतमा भवन निर्माण हुँदैछ । टिष्टुङको भवन राष्ट्रियसभा सदस्य रामनारायण विडारी र थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, खैराङको भवन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, धियालको भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र निबुवाटारको भवन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास गर्ने जनाईएको छ ।

त्यसैगरी, नवलपुर जिल्लाको कुमारवर्ती स्वास्थ्य चौकी कावासोती नगरपालिका, नारायणी स्वास्थ्य चौकी मध्यविन्दु नगरपालिका, गैडाकोट स्वास्थ्य चौकी गैडाकोट नगरपालिका, देउराली प्राथमिक स्वास्थ्य चौकी हुप्सेकोट गाउँपालिका, परासी जिल्लाको पञ्चनगर स्वास्थ्य चौकी बर्दघाट नगरपालिका, हुकई स्वास्थ्य चौकी रामग्राम नगरपालिका, रामनगर स्वास्थ्यचौकी सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा रहेको उनवच स्वास्थ्य चौकी पनि मंगलबार शिलान्यास हुने पत्रकार सम्मेलन कार्यालय प्रमुख खर्बुजाले जानकारी दिए । 

उनका अनुसार यी सबै स्वास्थ्य संस्था भवन १५ देखि १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी टेण्डर सम्झौता भएको छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबै भवन तोकिएकै समयमा सम्पन्न हुने गरी काम गर्न निरन्तर अनुगमन हुनुपर्नेमा जोड दिए । भवनको गुणस्तरीयतामा निगरानी गर्न संचारकर्मीलाई समेत उनले आग्रह गरे ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०