nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको वडापालिकालाई नै बजेट सिलिङ
असार २५ गते नगरसभा

मकवानपुरको थाहा नगरपालिकाले  वडा कार्यालयलाई नै बजेट सिलिङ पठाएको छ । यसअघि बैठकमा निर्णय गरेर निशर्त योजना छनोटका लागि वडालाई बजेट बनाउने भनिएको गरिए पनि आगामि आर्थिक वर्षका लागि थाहाले लिखित रुपमै सिलिङ पठाएको हो । 

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि योजना छनोट गरी नगरपालिकामा पेश गर्न वडामै बजेट सिलिङ पठाएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । नगरपालिकाले बजेट सिलिङमा निशर्त र शसर्त बजेट समेत तोकेको छ । बजेट सिलिङ अनुसार टिष्टुङ र आग्रालाई प्राथमिकताको साथ बजेट पठाइएको छ । बजेट सिलिङ अनुसार प्रत्येक वडलाई १० लाख रुपियाँ निसर्त सहित बजेट पठाइएको छ । प्राथमिकतामा परेका आग्रा क्षेत्रका वडा नं. ७ र ८ तथा टिष्टुङ क्षेत्रको वडा नं. ११ र १२ लाई एक     करोड र बाँकी वडालाई ८० लाख रुपियाँको दरले बजेट सिलिङ पठाइएको छ । वडा कार्यालयले पेश गरेको बजेट २५ असारका लागि आव्हान गरिएको नगरसभाले पास गर्ने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

नगरपालिकाबाट वडा कार्यालयलाई पठाइएको सिलिङ अनुसार वडा नं. ७, ८, ११ र १२ मा पठाइएको सशर्त बजेटमा वडा स्तरीय सडकका लागि ४० लाख तथा बाँकी ६० लाखबाट कम्तिमा पाँच लाख रुपियाँ भन्दा बढिको योजना छनोट गरी पठाउन भनिएको छ । त्यस्तै बाँकी वडाहरुमा पठाइएको ८० लाख रुपियाँमा पनि वडास्तरीय सडकका लागि लाख ३५ लाख र बाँकी बजेटबाट पाँच लाख रुपियाँबाट नघट्ने गरी योजना छनोट गर्न सिलिङमा भनिएको छ । त्यस्तै सबै वडामा पठाइएको निशर्ततर्फको १० लाखबाट योजना ममर्त तथा साना योजनाहरु संचालन गर्न सकिने नगरपालिकाले जनाएको छ । 

थाहा नगरपालिकाले प्रत्येक वडामा वडा स्तरीय सडक यस अघि नै छनोट गरिसकेको थियो । त्यसैले नगरको वडा स्तरीय सडकमा छुट्याइएको बजेट कुन सकडका लागि खर्च हुनेछ भन्ने कुरा नगरसभा सम्पन्न हुनु अगावै टुङ्गो लागि सकेको छ । वडा स्तरीय सडकको गुरुयोजना समेत निर्माण भइसकेको  नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

यसरी छनोट भएका १२ वटा सडकहरुमा वडा नं. १ को केशर डाँडा–कुलगाउँ–पोखरी–कुन्छाल सडक, २ नं. वडाको इन्द्रायणीचौर–पुलको मुख–पाण्डुकेश्वर–देउराली सडक, ३ नं. वडाको  भुङ्दाल–बाहुनगाउँ सडक, ४ नं. वडाको  चौकी–किटेनी–रुप्से सडक, ५ नं. वडाको दामन–पिङडाँडा–वडा कार्यालय–फुर्के–तसर–ढोक्चा सडक, ६ नं. वडाको सरस्वती बजार–बगर–बुढिचौर सडक, ७ नं. वडाको डाँडाबास–सल्ले–मोरिया सडक, ८, नं. वडाको  दामगाडे–महादेवबेशी सडक, ९ नं. वडाको चित्लाङ–ताकातार–खर्क–कपुगाउँ–बज्रमाठ–इन्द्रसरोवर सडक, १० नं. वडाको कलाँटु सडक, ११ नं. वडाको देउराली महांकाल–नागन्झाल–डाँडीघाट सडक र १२ नं. वडाको लिति–नागदह–जगडाँडा–आधामारा सडकलाई वडा स्तरीय सडकको रुपमा विकास गरिने भएको हो । 

थाहा नगरपालिकाले गुरु योजना सहित निर्माणका लागि बजेट विनियोजन थालेको १२ वटा सडकलाई ५ वर्ष भित्रमा कम्तिमा ५ किलोमीटर पीच गरिसक्ने योजना सहित अघि बढिरहेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । यसका लागि ति सडकहरुलाई वार्षिक बजेट विनियोजनमा प्राथमिकतामा राखेर विकास कार्य अघि बढाउने विष्टले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)