Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तेस्रो थाहा महोत्सवमा ४९ जना कृषकलाई पुरस्कार 

tarakari-pradarsani-1541399992.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा गत १० कार्तिकदेखि १८ सम्म सञ्चालन भएको तेस्रो थाहा महोत्सवमा ४९ जना कृषकहरुलाई पुरस्कार प्रदान गरिएको छ । कृषि, पर्यटन र पूर्वाधार, आर्थिक विकासको मूल आधार भन्ने मूल नारासहित सञ्चालित महोत्सवमा प्रदर्शनीमा ल्याइएका ५ सय बढी बालीहरुमध्ये मूल्याङ्कन गरी ४९ जनालाई पुरस्कार प्रदान गरिएको हो ।
प्रदर्शनीबाट खाद्यान्न बालीतर्फ भवानी हमाल, हिरालाल श्रेष्ठ र रिता कार्की क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने हरेराम उपाध्याय, मनमाया थोकर र सुमलाल गोपालीले तरकारी बालीतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार पाएका छन् । 
त्यस्तै, मसलाबाली अन्तर्गत उत्कृष्ठ ठहरिएर सृजना महर्जन, संग्राम विष्ट र भीमबहादुर गोलेले  क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गरे । आलु बालीमा विवेक विष्ट प्रथम, केदार विष्ट द्वितीय र कविराज ढकाल तृतीय भएका छन् । फलफूलमा मात्रवप्रसाद सुवेदी, क्षेत्र बहादुर आले र गोपाल चन्हराले क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार हात पारेका छन् । विविध बालीअन्तर्गत शंकर महर्जनले प्रथम, चन्द्रमान महर्जनले द्वितीय र रश्मी श्रेष्ठले तृतीय पुरस्कार ग्रहण गरे । 
प्रदर्शनीमा ल्याइएका बालीहरुलाई सात समूहमा विभाजन गरी प्रत्येक समूहबाट प्रथम, द्धितीय, तृतीय, सान्त्वना र प्रोत्साहनस्वरुप अन्य २१ वटा सान्त्वना स्थान निर्धारण गरिएको थियो । प्रदर्शनीमा राखिएका देउती मकै, खुमल–४ धान, सुपर ह्वाइट टप काउली, ग्रीन कोरनेट बन्दा, मूला, अकबरे खुर्सानी, पिरो खुर्सानी, बोसे अदुवा, धनिया, डेजिरे आलु, टिपिएस आलु, जनकदेव आलु, कार्डिनल आलु, मौरी, च्याउ, सिमी, कफी, किवी, सुन्तला, कागती, भेडे खुर्सानी, गोलभेडा, फर्सी, लौका, काँक्रो, ब्रोकाउली, भुई स्याउ, करेला, भण्टा, केराउ लगायतका बालीहरु पुरस्कृत भएका छन् । बाली अनुसार हुनुपर्ने भौतिक शुद्धता, रोगकिरा रहित, आकार–प्रकार, बजार अवस्था आदिका आधारमा बालीहरुको मूल्याङ्कन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यालय पालुङका बरिष्ठ कृषि अधिकृत सुजन अंगाईले बताए । 
महोत्सवमा समापन समारोहका अवसरमा कृषिकहरुलाई मञ्चबाट पुरस्कार प्रदान गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यालय पालुङका बरिष्ठ कृषि अधिकृत सुजन अंगाई, थाहा नगरपालिका कृषि शाखाका प्रमुख कृषि अधिकृत सञ्जय तिवारी र तरकारी जोन सञ्चालक समितिका संयोजक सुदर्शन विष्टले कृषकहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रत्येक बाली समूहमा प्रथम हुनेलाई इलेक्ट्रिक पम्प सहित ५ हजार रुपियाँको बीउ, द्वितीयलाई इण्डियन पम्प १६ लि. र ३ हजार रुपियाँ बराबरको बीउ, तृतीय हुनेलाई चाइनिज पम्प र २ हजार रुपियाँ बराबरको बीउ पुरस्कार प्रदान गरिएको कृषि प्रदर्शनी कार्यक्रम संयोजक निरोज प्रधानले बताए ।  
प्रतियोगिताका लागि आर.आर.एग्रो. एण्ड जनरल सप्लायर्सले प्रथम पुरस्कारका लागि ७ वटा इलेक्ट्रिक पम्प,  नेपाल सिड कम्पनीले १ लाख रुपैया बराबरको विउविजन तथा अन्नपूर्ण बीज भण्डारले प्रमाण–पत्र(फ्रेमसहित)को खर्च व्यहोर्ने गरी सहयोग उपलब्ध गराएको थियो  । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोट, थाहा नगरपालिका कृषि विकास शाखा तथा व्यक्तिगत रुपमा नेत्र केसी, सुरज प्रधान, कृष्णकाजी प्रधान, नवराज विष्ट, गौतम प्रधान र सुदर्शन विष्टले प्रतियोगिताका लागि सहयोग गरेका थिए । 
आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कृषि पर्दशनी संयोजक निरोज प्रधानले मायाको चिनो प्रदान गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)