nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आहा ! क्या दामी दामन [फोटो फिचर]

शहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने मन जो कोहीलाई हुन्छ । हिउँदे विदामा काठमाडौं छोड्ने उपयुक्त विकल्प मकवानपुर थाहानगरको दामन हुन सक्छ ।

काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै त्रिभुवन राजपथबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ । यस्तै दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङ निस्केर अर्को वैकल्पिक बाटो छ । हेटौंडाबाट ५५ किलोमिटर पार गरेपछि दामन पुगिन्छ ।

दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ । राजधानीका साथै हेटौंडा, वीरगञ्ज, चितवन लगायत तराई क्षेत्रबाट फरक हावापानीको अनुभव लिन दामन उक्लने युवायुवती बग्रेल्ती भेटिन्छन् । 

दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाट चन्द्रागिरी हँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ । दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् ।

दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । थाहा नगरपालिकामा पर्ने दामन इलाकाका टिस्टुङ र पालुङ उपत्यका ग्रामीण पर्यटनका आकर्षण हुन् । दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा लाग्ने जात्रा भर्न हजारौं श्रद्धालु आउँछन् ।

फोटो फिचर:

 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।