Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तेस्रो थाहा महोत्सवमा उत्कृष्ट कृषकलाई पुरस्कारै पुरस्कार

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा यहि १० कार्तिकदेखि १८ सम्म हुने तेस्रो थाहा महोत्सवमा उत्कृष्ट कृषकहरुलाई पुरस्कारै पुरस्कारको व्यवस्था गरिएको छ । विकासखबर डटकमका सम्पादक कुमार नेगीसँग कुराकानी गर्दै आयोजक थाहानगर उद्योग वाणिज्य संघका सदस्य तथा कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले यस्तो बताएका हुन् । 
पुरस्कारका लागि भने कृषकहरुले आफूले उत्पादन गरेका सामग्रीहरु महोत्सवमै ल्याउनु पर्नेछ । महोत्सव शुरु हुने दिन १० कात्तिकमै ल्याइएका कृषि उपजहरुको पुरस्कारका लागि मूल्याङ्कन हुने संयोजक प्रधानले बताए । प्रधानका अनुसार प्रदर्शनीमा तरकारीबाली तर्फ फलेको बोट सहित ल्याउनु पर्नेछ । त्यस्तै अन्नबालीतर्फ फलेको बोटसहित कम्तीमा दुईवटा बोट, मसलाबाली, आलु बाली, फलफूल फलेको हाँगासहित र तेलहन र अन्य विविध कृषि उपज ल्याउनु पर्नेछ । 
प्रदर्शनीमा राखिएका उपजहरुमध्येबाट बाली समूह अनुसार मूल्याङ्कन गरिनेछ । बालीसमूह अनुसार  प्रथप, द्वितीय, तृतीयको अतिरिक्त अन्य २८ जनालाई सान्त्वना पुरस्कार दिइने आयोजकले बताएको छ । प्रतियोगितामा प्रत्येक बाली समूहमा प्रथम हुनेलाई इलेक्ट्रिक पम्प सहित ५ हजार रुपियाँको बीउ, देस्रोलाई इण्डियन पम्प १६ लि. र ३ हजार रुपियाँ बराबरको बीउ, तेस्रो हुनेलाई चाइनिज पम्प र २ हजार रुपियाँ बराबरको बीउ पुरस्कार रहेको संयोजक प्रधानले बताए ।  
प्रतियोगिताको पहिलो पुरस्कार आर.आर. एग्र्र्र्रो.एण्ड जनरल सप्लायर्सले पम्प र नेपाल सिड कम्पनीले विउ उपलब्ध गराउने भएको भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार आयोजकले व्यवस्था गरेको छ ।
प्रतियोगिताको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोट, थाहा नगरपालिका कृषि विकास शाखा तथा व्यक्तिगत रुपमा नेत्र केसी, सुरज प्रधान, कृष्णकाजी प्रधान, नवराज विष्ट, गौतम प्रधान र सुदर्शन विष्टले सहयोग गरेका छन् ।