Tuesday, 20th October, 2020
वि.स.

चित्लाङ–थानकोट सडकः २३ सय वर्षअघिको सपना साकार हुँदै

तराईबाट काठमाण्डौं जोड्ने मुलुककै पुरानो मार्ग चित्लाङ–थानकोट सडकको निर्माण तथा स्तरोन्नतीले गति लिएको छ । सडकमा अहिले पनि साना चारपाङ्ग्रे सवारी संचालन भैरहेका छन् । मकवानपुरकै चर्चाको विषय बन्दै गइरहेको सडकको स्तरोन्नतीका लागि सर्वपक्षिय चासो भएकाले पनि निर्माण कार्य तिब्र रुपमा अघि बढेको स्थानीय पर्यटन व्यवशायी राशरण नेपालले बताए । सो सडकमा दशै अघि नै ठूला सवारी समेत संचालन हुन सक्ने गरी निर्माण कार्य तिब्र गतिमा भैरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण निर्माण कार्यमा भएको ढिलासुस्तीलाई सहजीकरण गर्न ११ साउनमा भौतिक पुर्वाधार विकास मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको अन्तरक्रिया पश्चात् निर्माणका लागि सजिलो भएको हो । अन्तरक्रियामा सडक निर्माणका लागि सबै एकमत भएका थिए । सडक निर्माणमा सहजीकरणका लागि गठन भएको समितिले अहिले जिम्मेवार भएर काम गरिरहेको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए । 

चित्लाङ थानकोट सडकको चन्द्रागिरी भन्ज्याङदेखि थानकोटको पानीघाट सम्मको कठिन बाटो अहिले स्तरोन्नती भैरहेको छ । सडक निर्माणका लागि पि.एस. किरातेश्वर जे.भी.ले ठेक्का पाएको हो । वि.सं. २०७३ साल साउन १७ गते सम्झौता भएर थालिएको निर्माण कार्य हालसम्म पनि पूरा हुन नसकेपछि स्थानीयहरु, जनप्रतिनीधीहरु, राजनीतिक दलका प्रतिनीधिहरु, तथा प्रदेश भौतिक पूवार्धार तथा विकास मन्त्रालय समेत पूर्णताको लागि जुटेका हुन् । निर्माण कम्पनीले वि.सं. २०७७ वैशाख १५ गतेसम्ममा कार्य सम्पन्न गर्नुपर्नेमा जम्मा ५० प्रतिशत मात्र काम भएपछि सबै एकजुट भएर सडक निर्माणमा दबाब सृजना गरिएको थियो । अहिले भट्टाभट् काम भैरहेको छ । 

थानकोट चन्द्रागिरी सडकको थानकोट पानीघाटदेखि काठमाण्डौंसम्म सडक पिच रहेको भने पानीघाटदेखि देउरालीसम्म ट्रयाक खोली चार पाङ्ग्रे हलुका सवारी साधन संचालन भैरहेको छ । उक्त सडक खण्डको देउरालीदेखि टौखेल नौखण्डे मोडसम्म ग्राभेल भई यातायात सहजै सुचारु भैरहेको छ । 

के हो चित्लाङ–थानकोट सडकको ऐतिहाँसिकता ?

यो मार्ग नेपालको प्राचीन मुल बाटो हो । त्रिभुवन राजपथ खन्नु यहि काठमाडौं उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको चित्लाङ चन्द्रागिरी सडकको हालत अझै उस्तै छ । तत्कालिन  चित्लाङ गाविस हाल थाहा नगरपालिका ९ र १० भएर बनेको यो सडक जुगौं बितेपछि अहिले स्तरोन्नतीको तातो लागेको छ ।

संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको चित्लाङको नाम पहिले चित्रापुर थियो । पछि चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ रहन गएको थियो । पछि अपभ्रंश भएर यसको चित्लाङ रहन गएको स्थानीय बुद्धरत्न मानन्धर बताउाछन् । नेपालका धेरै शासन र शासकहरूको साक्षी पनि हो, चित्लाङ । यसको 
उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत क्षेत्र रहेको छ ।

चित्लाङ राजा अंशुवर्माले गोठालाहरूलाई उपहारमा दिएको गाउँ हो । त्यति मात्र हैन, द्वापरयुगमा सप्तऋषिले नुहाउने सप्तश्रीधारा पनि चित्लाङको सम्पदा रहेको स्थानीयबासी बताउँछन् । त्यसैले चित्लाङको विकासका लागि भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नति गर्नुपर्ने आजको अपरिहार्य आवश्यकता रहेको पर्यटन व्यवशायी रामशरण नेपालको भनाइ छ ।

मकवानपुरको चित्लाङलाई लिच्छवी कालदेखिको प्रमाण मानिन्छ । २३ सय वर्ष पुरानो यस गाउँमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा रहेका छन् । यो प्रमाणबाट पनि थाहा हुन्छ कि चित्लाङ दोस्रो मुलुका जाने पनि मुल बाटो हो । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने मानिस चन्द्रागिरि डाँडो पार भएर चित्लाङ हुँदै जाने गर्थे । सर्वसाधारण मात्र नभई मल्लकालीन राजा र राणाहरू पनि तराई आउ–जाउ गर्दा चित्लाङकै बाटोबाट ओहोर–दोहोर गर्थे । आउजाउ गर्दा रात परेपछि उनीहरू चित्लाङमै बास बस्थे । चित्लाङमा उनीहरु बास बस्ने दरबार र घरहरु अझै भग्नाअवशेष रुपमा साक्षी भै उभिएका छन् । 
 

ऐतिहाँसिक बाटो, पुरानो शहरः प्रमाण नै प्रमाण

पृथ्वी राजमार्गको त नामोनिसाना थिएन । भुलचुक टिष्टुङ पालुङबाट दामन हुँदै केही मानिसहरु तराई झर्थे । हेटौंडा जान्थे, नून लिन भिमफेदी पुग्थे । जुन गोरेटो पछ्याए पनि घोडेटो र दोहोरो आउजाउ हुने बाटो भने चित्लाङ नै हो । आउजाउ हुने भएपछि चित्लाङमा थुप्रै पसल थापिएका थिए । लाग्थ्यो–‘चित्लाङ पुरानो शहर’ नै हो । 

राणा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा यही बाटो भएर गएको इतिहासकारहरुको भनाइ छ । अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले शिकार खेल्न जाँदा निर्माण गरेको पाहुना घर र दरबारहरूको भग्नावशेष पनि चित्लाङमै छन् । भारतका सम्राट अशोक चित्लाङ हुँदै काठमाडौं जाने–आउने क्रममा चित्लाङको चित्रापुर नगरको चिलङगा चैत्य निर्माण गरेका थिए, जुन चैत्य अहिले पनि छँदैछ । 

अशोक चैत्य र किराँत राजाहरूले बनाएका तीन गजुरको मन्दिर, तलेजु भवानी मन्दिर पुरातात्विक प्रमाण हुन् । चित्लाङ पुरानो मानवबस्ती भएको कारण यहाँका शिलालेखहरु अध्ययन गर्न इतिहास अध्ययनकर्ता आउने गर्छन् । वि.सं. २०१३ तिर बाइरोड खुल्यो । भारत सरकारको लगानीमा खुलेको यो बाटोमा गाडी गुड्न थालेपछि चित्लाङ ओझेलमा पर्यो । त्यसोत पृथ्वी राजमार्ग खुलेपछि त झन त्रिभुवन राजपथ पनि उस्तै सुनसान बन्दै गयो । काठमाण्डौं प्रवेश गर्ने मुलुककै पुराना यि नाका मध्ये चित्लाङ आइसोलेशन अनि त्रिभुवनराजपथ क्वारेन्टिन जस्तो भएको छ । यद्यपि चित्लाङ–थानकोट सडककै कारण पर्यटकीय हबका रुपमा विस्तार हुँदै गएको छ ।

जसले सपना देखे, फिल्डमा फुयाँल

रामेश्वर फुयाँल नेपाली राजनीतिका ‘लिष्टेड’ व्यक्ति हुन् । विकासका लागि जहिल्यै पाखुरी स्याहार्ने मन्त्री फुयाँल अहिले बागमती प्रदेशको विकासे फिल्डमा छन् अर्थात भौतिक पूर्वाधार विकास मन्त्री छन् । उनी मन्त्री हुँदा मात्र होइन विकासमा उनको लगाव पुर्खौली नसा हो ।
 
वि.सं. २०४६ सालमा नै काठमाण्डौ वरीपरीका स्थानीय निकायलाई समेटेर काँठ चक्रपथको अवधारणा प्रस्तुत भएको थियो । यो सवाल तत्कालिन काठमाण्डौ जिल्ला परिषदमा उठेको थियो । हालका मन्त्री फुयाँल वि.सं. २०४९ सालमा काठमाण्डौ जिल्ला अन्तर्गतको आलापोट गाविसको अध्यक्षमा निर्वाचित भए । उनलाई जनप्रतिनीधिको जिम्मेवारीमा भुईका मान्छेलाई लाभ हुने विकास गर्नुपर्छ भन्ने स्वाद बस्यो । वि.सं. २०५४ मा पनि सोही पदमा निर्वाचित भएका थिए । र, त्यही बेला उनी काठमाण्डौ जिल्ला विकास समितिको उपसभापति भए । उमेद्वार छँदा उनले चित्लाङ थानकोट सडक बनाउने सपना घोषणा पत्रमै कोरेका थिए । काठमाण्डौंलाई तराई जोड्ने भरपर्दो मार्ग चित्लाङ थानकोट सडक हुनेमा उनले उहीबेला चिताएका थिए ।  

तत्कालिन नेकपा एमालेबाट निर्वाचित उनी यस सडकको विस्तारका लागि जुटेको जुट्यै थिए । पञ्चयात काल भन्दा अघिकोे अवधारणा राजतन्त्रका बेला ट्रयाक खोल्ने योजनामा बदलियो  वि.सं. २०४९ सालमा सडक विभागको सहयोगमा चित्लाङ थानकोट सडकको ट्रयाक खुल्यो । तर गाडी चलेन । भिरको बाटो मान्छेलाई मात्र ठीक्क भो । चित्लाङ तर्फका खेती योग्य खेतबारी मासिने भएपछि धेरथोर विवाद पनि भयो । विवाद लम्बिदै जाँदा सडक बन्ने ‘चान्स’ नै भएन । वि.सं. २०५४ सालमा काठमाण्डौं जिल्ला उपसभापति भएका फुयाँलले सडकको सहजीकरण गर्ने मौका पाए । अहिलेका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री उनै छन् । उनको कार्यकालमा सडक सम्बन्धी विवाद पनि समाधन भयो । सडक खुलाउने विषयमा उनी आफ्नो कार्यकालमा चित्लाङ आइरहन्थे । काठमाण्डौका उपसभापति हुँदाकै बखत उनले गाह्रो साघुरो सडक ट्रयाक खुलाएका हुन् ।  

ट्रयाक खुलेपछि बल्ल ‘गणेशमान सिंह मार्ग’

मानिस मात्र काठमाण्डौ जाने आउने बाटोको वि.सं. २०४९ सालमा ट्रयाक खुलेपछि मात्र यसको नामाकरण भएको हो । 

मुलुककै विकासका लागि योगदान दिएका जननेता गणेशमान सिंहको वि.सं. २०५४ सालमा स्वर्गारण भयो । उनको नाममा यस सडकको नामाकरण गर्न प्रस्ताव परेपछि चित्लाङ–थानकोट सडकको नाम ‘गणेशमान सिंह मार्ग’ भएको हो । नामाकरणसंगै यस सडकलाई विभागबाटै वर्षेनी बजेट विनियोजन हुँदै आएकोमा पछिल्लो समय सडकको स्तरोन्नतीको सवाल उठ्न थालेको हो । यद्यपि यस अघि पनि यस सडकमा साना सवारी साधन भने संचालन हुँदै आएका थिए । 

हाल उक्त सडक संघीय सरकार अन्तर्गत पर्दछ । संघीय सरकारले बजेट विनियोजन गरी स्तरोन्नतीका लागि काम भैरहेको छ । सडकलाई समयमै निर्माण सक्नको लागि संघ, प्रदेश र स्थानीय तहको लगानी र नागरिकको एकमनता आवश्यक भएको मन्त्री फुयाँलको भनाइ छ ।    
फुयाँलले प्राचीन नेपालको इतिहासमा विभिन्न वंंश र ऋषिमुनिहरुले देशभरको यात्रा गर्नुपर्दा यही मार्गको प्रयोग गरेको इतिहास रहेकोले यस सडक संचालन गरेरै देखाउने प्रतिवद्धता छ ।

सांसद आलेको नेतृत्व, जनप्रतिनीधिको साथ

चित्लाङ चन्द्रागिरी सडक स्तरोन्नतीको लागि क्यालेण्डर बनाएर काम भैरहेको छ । ११ साउनमा चित्लाङमा निर्माण व्यवशायी सहितको मन्त्री तथा सांसद र जनप्रतिनीधिहरुको संयुक्त अन्तरक्रियाबाट बनेको टाइमलाईनमा काम भैरहेको सांसद तथा सरोकार समितिकी संयोजक रमा आलेमगरले जानकारी दिइन् । समितिमा रामशरण नेपाल, दीपक गोपाली, सुनिल गुरुङ, विजय बस्नेत र बिनोद बस्नेत रहेका छन् । 
 
सडक निर्माण भैरहेको ठाउँमा अहिले पूर्व सासंद तथा संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी दिनदिनै खटिएका छन् । विहानै उनी निर्माण स्थल पुग्छन् । डिपिआर पल्टाउँछन्, मापदण्ड अनुसारको सडक बनाउन इन्जिनियरलाई मात्र हैन अपरेटरलाई समेत अह्राउँछन् । उनलाई स्थानीयहरुको साथ मिलेको छ । चित्लाङका सवाजसेवी बुद्धरत्न मानन्धर त बासै थानकोटमा बस्छन् । निर्माण स्थलमा विहानै आइपुग्न पर्ने र चित्लाङबाट टाढा पर्ने भएकोले थानकोटमै बास बस्ने गरेको उनको भनाइ छ । त्यसो त थाहा नगरपालिका तथा चन्द्रागिरी नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरु समेत निर्माण स्थालमा पुग्छन् । निर्माण क्यालेण्डर अनुसार उनीहरु दशै अघि नै बाटो सफा गरिसकेर सररर गाडी गुडाउन तल्हिन छन् । 

निर्माण स्थलमा सांसद र जनप्रतिनीधि मात्र होइनन् । समयमै गुणस्तरीय काम गर्नका लागि स्थानीयहरु पनि दह्रिने गरेका छन् । होटल एशोसिएशन, क्लबहरुलगायत पनि संस्थागत रुपमै निर्माण स्थलमा उभिन्छन्, खबरदारी गर्छन् । सडक निर्माणका क्रममा केही समस्या आए तत्काल ठाउँको ठाउँमै सल्ट्याउने गरी चित्लाङबासी कस्सीएर लागेका छन् । 

सडकमा प्रयोग नभएका तर सडकमै रहेका ढुङ्गा राख्नका लागि स्थानीयहरुले नै उक्त सडक खण्डको सेतो पहरा मुनि स्थान उपलब्ध गराएको छ । निर्माणका क्रममा निश्केका ढुङ्गा चोरी समेत हुने भएकोले यसलाई नियन्त्रणका उपाय अपनाइएको बताइको छ । निर्माणमा कठिनाई भएपछि २१ असोजमा चन्द्रागिरीमा बसेको बैठकले थप सहजीकरण भएको सहभागी बुद्धरत्न मानन्धरले बताए । ऐतिहाँसिक सडक निर्माणमा सबैको प्रतिवद्धता प्रति खुशी व्यक्त गर्दै भौतिक पूर्वाधार विकास मन्त्री  फुयाँल भन्छन्–‘केही कठिनाइ भए भन्नू, म तपाइहरुकै साथमा छु ।’

फोटोहरुः रामकुमार कार्की, गणेश विष्ट (थाहा टाइम्स) तथा सामाजिक संजाहरुबाट .

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)