Wednesday, 17th June, 2026
वि.स.

चन्द्रागिरी हिल्स र सानिमा जनरल इन्स्योरेन्ससहित दर्जनभन्दा बढी कम्पनीको साधारण शेयर आउँदै

Chandra-1601989497.jpg

लगानी गर्ने ठाउँको खोजीमा हुनुहुन्छ भने प्राथमिक शेयरमा लगानी एक विकल्प हुनसक्छ, बजारमा दर्जनभन्दा बढी कम्पनीका रु. ४ अर्बभन्दा बढीको साधारण शेयर (आईपीओ) आउँदैछ। 

नेपाल धितोपत्र बोर्डमा १४ कम्पनीले साधारण शेयर जारी गर्न माग गर्दै आवेदन दिएका छन्। केहीले अनुमति पाएर साधारण शेयर निष्कासनको तयारी गरिरहेका छन्। साधारण शेयर निष्कासन गर्न अनुमति मागेका अधिकांश कम्पनी जलविद्युत् क्षेत्रका छन्। चन्द्रागिरी हिल्स लिमिटेड, डिस मिडिया नेटवर्क, इमर्जिङ नेपाल लिमिटेड जस्ता कम्पनीले पनि साधारण शेयर जारी गर्ने तयारी गरेका छन्। 

धितोपत्र बोर्डले चन्द्रागिरी हिल्सलाई रु. १८ करोड ४० लाख मूल्य बराबरको १८ लाख ४० हजार कित्ता शेयर निष्कासनको अनुमति दिने तयारी गरेको छ। कम्पनीले गत जेठमा आईपीओ जारी गर्न बोर्डमा आवेदन गरेको थियो। अधिकांश प्रक्रिया सकिएकाले चन्द्रागिरी हिल्सले छिट्टै आईपीओ जारी गर्ने अनुमति पाउनेछ। चन्द्रागिरी हिल्सले चन्द्रागिरीमा केबुलकार तथा पाँचतारे होटल सञ्चालन गरिरहेको छ। यो कम्पनीले स्थानीयबासी र सर्वसाधारणलाई शेयर निष्कासन गर्न लागेको हो।  

त्यसैगरी, डिस होम टेलिभिजन सञ्चालन गरिरहेको डिस मिडिया नेटवर्कले पनि साधारण शेयर जारी गर्ने तयारी गरेको छ। रु. २ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीले गएको असारमा रु. २३ करोड ८५ लाख मूल्यका २३ लाख ८५ हजार कित्ता शेयर जारी गर्न बोर्डमा आवेदन दिएको थियो । डिस होम टेलिभिजन र इन्टरनेट सेवा प्रदायक कम्पनी हो।

त्यसैगरी, सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनाले स्थानीयवासी र सर्वसाधारणका लागि रु. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता शेयर जारी गर्दैछ। कम्पनीले ६० लाख कित्ता शेयर स्थानीयवासी र ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो। यो कम्पनीले गत वर्षको माघमै आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो। सिंगटी हाइड्रो, ग्रिनलाइफा हाइड्रो, मैलुङ खोला जलविद्युत्, सीआईबीएल क्यापिटल, तेह्रथुम पावर, शुभम पावर, इमर्जिङ नेपाल, सीईबीडी हाइड्रोपावर, हिमालयन जलविद्युत्, विन्ध्यबासिनी जलविद्युतसहितका कम्पनीले पनि साधारण शेयर निष्कासनका लागि आवेदन माग गर्दै स्वीकृति पर्खिरहेका छन्।

नेपालको पूर्वाधार विकासमा काम गर्ने कम्पनी इमर्जिङ नेपालले रु. ५ करोड मूल्यको ५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको छ।  धितोपत्र बोर्डले पछिल्लो समयमा जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई साधारण शेयर निष्कासनको अनुमति दिएको थियो। जनरल इन्स्योरेन्सले शेयर निष्कासन गरेर बाँडफाँडको तयारी गरेको हो। यो कम्पनीले आवेदन मागेभन्दा कैयौं गुणा बढी शेयर खरीद गर्न चाहनेले आवेदन बुझाएका थिए।

सानिमा जनरल इन्स्योरेन्सले रु. ३० करोड बराबरको ३० लाख कित्ता शेयर बुधबारदेखि जारी गर्ने तयारी गरेको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०