thahatimes-ad-thekka-1731652826.jpg
Tuesday, 21st January, 2025
वि.स.

चन्द्रागिरिमा १७ वर्षीया किशोरीको हत्यापछि लो-बेडभित्र लुकाइयो शव, मोबाइलले खोल्यो पोल

chandragiri-1734599467.jpg

चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया किशोरी सरिता तामाङ हराएको भन्दै प्रहरी वृत्त थानकोटमा निवेदन पर्‍यो ।

२९ मंसिरको राति १२ बजेदेखि हराएको भन्दै उनका दाई नवीन रुम्बा तामाङले १ पुसमा प्रहरीमा निवेदन दिएका थिए । धादिङको गजुरी गाउँपालिका–४ घर भएकी तामाङ हराएको भन्दै निवेदन परेपछि प्रहरीले खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा ३ पुस दिउँसो ३ बजेतिर तामाङको शव फेला पर्‍यो ।

चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुईँ तलाको कोठाभित्र प्रहरीले उनको शव फेला पारेको हो । सरिता सोही घरमा भाडामा बस्ने गरेकी थिइन् ।

अवस्थामा हराएको भनिएकी किशोरी भेटिएपछि यो घटनामा थानकोटसहित जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको थियो । सो क्रममा मृत किशोरी सरिताले मोबाइल पनि प्रयोग गर्ने गरेको उनका आफन्तले बताएका थिए । त्यसपछि प्रहरीले मोबाइललाई केन्द्रित गरेर अनुसन्धान अघि बढायो ।

मोबाइल पत्ता लगाएपछि अभियुक्तको पहिचान गर्न सफल भएको परिसरका एक अनुसन्धान अधिकृतले बताए । परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सरिताको हत्या आरोपमा गजुरी–३ घर भई काठमाडौं–१४ खड्कागाउँ बस्दै आएका २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरिएको छ ।

अनुसन्धानका क्रममा मृतक सरिताको मोबाइल विश्वासको कोठामा भेटियो । त्यसपछि विश्वासले घटनाबारे स्वीकारेको एक अनुसन्धान अधिकृतले बताए ।

सरिता र विश्वास नाताभित्रकै व्यक्तिहरूसमेत हुन् । उनलाई कोठाबाटै बुधबार राति साढे ९ बजे पक्राउ गरिएको हो । उनले हत्या स्वीकार गर्दै सामान्य विवाद हुँदा भवितव्य परेर घटना भएको दाबी गरेका छन् । सरिताको मृत्यु भएपछि लो–बेड (सुत्ने खाट) भित्र शव लुकाइएको थियो ।

आज काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि नैकापमा कक्षा १० मा अध्ययनरत थिइन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०