Thursday, 22nd October, 2026
वि.स.
pustakalay-1792211853.jpg

कोरोना संक्रमणका कारण जागिर गयो

corona-photo-1610785415.jpg

कोरोना भाइरसबाट सङ्क्रमित भएर होम आइसोलेशनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ। एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो।

ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण गर्न उनले स्वाब दिएका थिए। ‘पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेशन बसेको थिए’, उनले भने, ‘कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन्।’

रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गरे। ‘टोल, छिमेकमा कोरोना सङ्क्रमित भनेर दुर्व्यवहार सहनुपर्‍यो’, उनले भने, ‘आइसोलेशन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ।’

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ। रोजगारीको खोजीमा उनले चार वर्ष मलेसियामा काम गरेका थिए। बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन्। कम्पनीले मासिक १८ हजार रुपैयाँ तलब दिने गरेको थियो। जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ।

प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षागार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताए। काठमाडौंमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गरे। रासस



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg